काठमाडौं- आज बिहान त्रिशूली नदीमा खसेको बसबाट बेपत्ता भएका पाँच जना यात्रुको खोजी कार्य जारी छ। दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने हराइरहेका मध्ये ४ पुरुष र १ महिला रहेको बुझिएको छ ।
बसमा कति यात्रु थिए अहिलेसम्म यकिन हुन सकेको छैन। ड्राइभरले ४९ जना भनेका छन् चने सहचालकले ५१ बताइरहेका छन् । ४० जनाको घाइते र सकुशल अवस्थामा उद्धार गरिएको छ।
उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मनिष थापाको कमान्डमा २८ जना, विपद् व्यवस्थापन बेस आदमघाटबाट डिएसपी तुला चौधरीको कमान्डमा १६ जना र आश्रित गुल्म धादिङबाट ११ जनासहित ५५ जनाको फौज परिचालन भएको छ। यसमा ९ जना गोताखोर र अन्य विपद् व्यवस्थापन तालिम प्राप्त छन्।
खोजी कार्यको लागि दुईवटा राफ्ट बोटसमेत प्रयोग गरिएको छ। अहिलेसम्म २ जना मृतकको मात्र सनाखत भएको छ।
आज बिहान गजुरी गाउँपालिका-५ घाटबेशीमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेका लु २ ख २१२१ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको थियो। बसमा सवार ७ जनाको घटनास्थलमै मृत्यु भएको छ। सामान्य घाइते भएका बस चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ।