काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर भएका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १२ जनाको ज्यान गएको छ भने फरक फरक स्थानमा तीन जना मृत फेला परेका छन्।
प्रहरीका अनुसार धादिङ, गजुरी गाउँपालिका-५ घांटबेशीस्थित सडकमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेका लु.२ ख २१२१ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा बसमा सवार ७ जनाको घटनास्थलमै मृत्यु भएको छ। साथै दुर्घटनास्थलबाट उद्दार गरिएका ३९ जना घाइतेमध्ये २९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र गजुरी अस्पतालमा उपचार भइरहेको छ भने १० जनालाई थप उपचारको लागि काठमाडौंतर्फ पठाइएको छ। सामान्य घाइते भएका बस चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ।
ललितपुर, ललितपुर महानगरपालिका-२२ फर्सिडोलस्थित हिरा इटा भट्टामा बा.२ क ६२४ नम्बरको मिनि ट्रक पल्टिएर मंगलबार साँझ दुर्घटना हुँदा चालक सोही महानगरपालिका-२२ फर्सडोल बस्ने दाङ लमही घर भएका २८ वर्षीय निम बहादुर कुमालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको स्टार अस्पताल सानेपामा उपचारको क्रममा मृत्यु भएको हो।
चितवन, भरतपुर महानगरपालिका-११ भोजाडस्थित सडकमा प्रदेश २-०३-००१ ख ३७९८ नम्बरको टिपरले ना.३९ प २१०२ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-११ नबजिवन टोल बस्ने ३८ वर्षीय प्रेम बहादुर तामाङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। उक्त मोटरसाइकल र बा.प्र.०६- ००२ प ७६५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएकोमा पुन: उक्त टिपरले मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको थियो। तीनवटै सवारी साधन, टिपर चालक र बा.प्र.०६-००२ प ७६५ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कञ्चनपुर, बेदकोट नगरपालिका-३ समादैजीस्थित सडकमा भे.१ क २११४ नम्बरको ट्रक र म.२ प ८५८२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक कृष्णपुर नगरपालिका-९ पिपरीया बस्ने २५ वर्षीय पुरन रानाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कपिलवस्तु, शुद्धोधन गाउँपालिका-४ धर्मपुरस्थित सडकमा लु.९ प १८७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश भरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
बारा, महागढीमाई नगरपालिका-९ पिप्रास्थित सडकमा बीआर ०५ एक्स ६७०२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय दरोगा बैठाको मंगलबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृत फेला
धनुषा, मिथिला नगरपालिका-५ श्रीपुरस्थित औरही खोलाको बगरमा क्षिरेश्वरनाथ नगरपालिका-५ बस्ने ३५ वर्षीय नागेश्वर यादव मंगलबार मृत अवस्थामा फेला परेका छन्।
बर्दिया, बढैयाताल गाउँपालिका-५ बढैयातालस्थित बाटो छेउमा बाँके खजुरा गाउँपालिका-८ बस्ने ९५ वर्षीय कल्लु खाँ मंगलबार मृत अवस्थामा फेला परेका छन्।
पर्सा, बिन्दाबासनी गाउँपालिका-५ हस्वा टोलस्थित खेतमा भारत बिहार पूर्वी चम्पारण अनसारुल हक-३ बक्सा गमहरिया बस्ने ४२ वर्षीय मोहमद ईरसाद मंगलबार मृत अवस्थामा फेला परेका छन्।