बिहीबार, चैत २६, २०८२

डम्पिङ साइट भरिएपछि कालीगण्डकी कोरिडोर दुर्गन्धित

 |  मंगलबार, फागुन २२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २२, २०८०

बागलुङ- बागलुङ नगरपालिकाले काठेखोला र कालीगण्डकी करिडोर नजिकैको सुतुर्केमा फोहोर फाल्न थालेको एक दशक भयो। त्यसअघि नगरपालिकाले २०५४ सालदेखि कालीगण्डकी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको थियो। 

National life

तर अहिले सुतुर्केको ‘डम्पिङसाइट’ पनि भरिएपछि फोहोर व्यवस्थापनमा चुनौती थपिएको छ। अव्यवस्थित फोहोर व्यवस्थापनबाट सोही स्थान हुँदै दैनिक गुड्ने सयौँ सवारीसाधन र यात्रु प्रभावित भएका छन्। 

कुहिने र नकुहिने फोहोर नछुट्याइ व्यवस्थापन गर्दा त्यहाँको १० रोपनी जग्गा भरिएको छ भने सुतुर्केको ‘डम्पिङसाइट’को असर नजिकैको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा पनि असर पर्न थालेको छ। 

अव्यवस्थित फोहोर व्यवस्थापनका कारण सो ठाउँ हुँदै यात्रा गर्न सकस हुने गरेको सवारी चालक देवीबहादुर सुनारले सुनाए। “फोहोर फाल्नका लागि वरिपरी पर्खाल लगाइएको छ तर फोहोर भरिएर सबै सडकमा खसेको छ”, उनले भने, “गर्मी पनि बढ्न थाल्यो, अब यो बाटो भएर हिँड्नै नसक्ने अवस्था हुन्छ। दुर्गन्धले रिङ्गटा लाग्ला जस्तो हुन्छ। यो बाटोको विकल्प पनि छैन।”

नगरपालिकाले फोहोरको दिगो व्यवस्थापनका लागि व्यवस्थित ‘ल्यान्डफिल साइट’ बनाउने योजना बनाए पनि हालसम्म कार्यान्वयनमा आएको छैन। केही दिन लगातार यो सडक हुँदै यात्रा गरियो भने बिरामी पर्ने अवस्था रहेको बागलुङ नगरपालका–१४ का विरबहादुर क्षेत्रीको गुनासो छ। स्थानीयले नगरपालिकामा गएर धेरै पटक फोहोर व्यवस्थापनका लागि आग्रह गरे पनि हालसम्म सुनुवाई हुन नसकेको उनको भनाइ छ। 

kumari

बागलुङ नगरपालिकाले दैनिक छ टन फोहोर व्यवस्थापन गरिरहेको छ। नगरपालिकाले फोहोर व्यवस्थापनका लागि आधुनिक र व्यवस्थित डम्पिङसाइट बनाउने गुरुयोजना बनाए पनि बजेट अभावमा कार्यान्वयन गर्न नसकिएको नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठको भनाइ छ। 

नगरपालिकाले दक्षिण कोरियाको वातावरण विभाग अन्तर्गत ‘एएलके इसिओ’ कम्पनीसँग फोहोर व्यवस्थापनका लागि मेसिन ल्याउने तयारी गरेको श्रेष्ठले जानकारी दिए। 

यसअघि सो कम्पनीका प्रमुख खो यु सेप, सीईओ जङ डेटोङ तथा बागलुङ नगरपालिकाका प्रमुख श्रेष्ठ र कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीको संयुक्त बैठकले मेसिन ल्याउने निर्णय गरेको थियो। बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षमा फोहोर व्यवस्थापनका लागि विनियोजित रु एक करोड २० लाखमा मेसिन खरिद गर्ने तयारी गरेको प्रमुख श्रेष्ठको भनाइ छ।

प्रकाशित: Mar 05, 2024| 17:31 मंगलबार, फागुन २२, २०८०
प्रतिक्रिया दिनुहोस्