काठमाडौं- चितवनको रत्ननगरस्थित एक स्कुलको छात्रावासमा आत्महत्या गरेकी शालिन पोख्रेलको आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ। मृत्यु भएको १० दिनपछि बल्ल अन्त्येष्टि भएको हो।
त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि उनका बाबुआमा दुवैको उपस्थितिमा मंगलबार दिउँसो अन्त्येष्टि गरिएको हो।
एकता शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा बस्दै आएकी १४ वर्षीया शालिन यही फागुन १२ गते बिहान कोठामा मृत फेला परेकी थिइन्। कोठामा रहेको सिलिङको पंखामा डोरी लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो।
घटनाको अनुसन्धानका लागि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई पक्राउ गरेको छ।
यसैबीच शालिनको भनिएको सुसाइड नोट उनैले लेखेको पुष्टि भएको छ। आफूसहित अन्य दुईजना साथी बस्ने कोठामा झुन्डिनुअघि लेखेको सुसाइड नोट उनकै भएको पुष्टि नेपाल प्रहरीको फरेन्सिक ल्याबको परीक्षणबाट भएको हो।
नोटमा भनिएको छ, ‘सरी एभ्रिबडी, मैले अहिलेसम्म जति पनि गल्ती गरेँ, मेरो मम्मी बाबालाई याद गर्छु भन्दिनु, आईएम सरी !’