जाजरकोट- भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुम पश्चिम र सल्यानमा महिला तथा बालबालिकामा कुपोषणको समस्या देखिएको छ। भूकम्प प्रभावित क्षेत्रमा तीन महिना सञ्चालन गरिएको स्वास्थ्य शिविरका क्रममा महिला र बालबालिकामा उक्त समस्या देखिएको हो।
मङ्सिरदेखि माघसम्म सञ्चालन भएको विपतको समयमा प्रजनन् स्वास्थ्य सेवामा न्यूनतम आधारभूत स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत जाजरकोट र रुकुमपश्चिममा ४६ स्वास्थ्य शिविर सञ्चालन गरिएका थिए।
शिविरमा सेवा लिन आएका महिला र बालबालिकाले पर्याप्त मात्रामा पोषिलो खानेकुरा खान नपाउँदा कुपोषणको जोखिम रहेको नेपाल परिवार नियोजन सङ्घले जनाएको छ। तीन महिनाको अवधिमा शिविरमा सात हजार तीन सयभन्दा बढी भूकम्प प्रभावितलाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो। सेवा लिनेमा पुरुष नौ सय ४४ र महिला ६ हजार तीन सय ५५ छन्।
शिविरमा चार हजार एक सय नौ महिलाको पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको थियो। जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र कुसे गाउँपालिका तथा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा शिविर सञ्चालन गरिएको थियो।
प्रभावित जिल्लामा बाह्रैमास खान नपुग्ने, भूकम्पपछि खान र बस्न समस्या, सन्तुलित खानाको अभावलगायत कारणले महिला र बालबालिकामा कुपोषणको समस्या देखिएको हो। जाजरकोटको कुशे र बारेकोटका महिला तथा बालबालिकामा कुपोषणको समस्या बढी देखिएको छ। ती ठाउँमा परिवार नियोजनको साधन प्रयोग गर्ने ज्ञानको कमी रहेको पाइएको छ।
नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले पालिकामा अझैँ स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने बताए। उत्पादन हुने क्षेत्रमा घर, टहरा निर्माण गरिँदा खाद्यान्नको समस्या छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयसमेत चामलको अभाव रहेको उनले बताए।
बारेकोटमा पनि नलगाडकैजस्तै समस्या रहेको गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले बताए। आठबीसकोटका नगरप्रमुख रवी केसीले विपतमा सबैले एकजुट भएर काम गर्नुपर्ने बताए।