सोमबार, वैशाख १४, २०८३

तीन पुस्तापछि जग्गाको मालिक बन्न पाएका गोविन्दपुरबासी

 |  मंगलबार, फागुन २२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २२, २०८०

सिरहा- सिरहाको लहान नगरपालिका-१६ स्थित तरेगना गोविन्दपुरका लक्ष्मी चौधरीको अनुहार सोमबार निकै प्रसन्न देखिन्थ्यो। लहान नगरपालिकाको पहलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जोतभोगका आधारमा जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा)का लागि वितरण गरिएको निस्सापत्र प्राप्त गरेपछि उनको मुहारमा खुसी छाएको हो।

National life

'यही पाउनका लागि धेरै वर्षको प्रतिक्षा थियो। पुस्तौँपुस्ता बिताउनुपर्यो', हातमा निस्सापत्र देखाउँदै उनले भनिन्, 'धेरै खुसी लागेको छ। हामीले दुःखजिलो गरी गुजरा चलाउने जमिनको मालिक आफैँ हुन पाइने भयो। यो पत्र (निस्सापत्र) लगेर घरमा श्रीमानलाई देखाउँछु, उहाँ पनि खुसी हुनुहुन्छ।'

लक्ष्मीजस्तै सोही वडाका रामप्रसाद महतो पनि खुसी देखिन्थे। 'भूमिको नाममा कहीँकतै केही नभएको म यो निस्सा पाउँदा अब जग्गा नै पाउँछु भन्ने विश्वास लागेको छ', उनले भने, 'निस्सा नभई रातो लालपुर्जा नै पाएजस्तो महसुस गरेको छु, अब सरकारले जग्गा दिनेमा विश्वस्त छु।'

चौधरी र महतोजस्तै वडा नं १६ का ३ सय ७६ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थितरूपमा बसोबास गर्दै आएका परिवारले सोमबार निस्सा पाएपछि लालपुर्जा पाउने आशमा खुसी देखिएका छन्।

वडावासीलाई भूमिको अधिकार दिलाउन वडा र नगरको सहजीकरण समितिबाट प्रमाणीकरण गरी राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन गरी नगरपालिकाले निस्सा वितरण गरेको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए।

kumari

उनले भने, 'वषौँदेखि जोतभोग गरेका तर आफ्नो नाममा जग्गा नभएका यहाँका भूमिहीनलाई जग्गा दिलाउन हामीले विभिन्न वडामा पहिलो चरणको प्रक्रिया सुरु गरिसकेका छौँ। निस्सा वितरणका आधारमा नै जग्गाको नापजाँचको कामलगायतका प्रक्रिया अगाडि बढाइने छ। सम्पूर्ण प्रक्रिया पूरा गरी एक महिनाभित्रै जग्गाधनी पुर्जा वितरण गर्नका लागि राष्ट्रिय भूमि आयोगका प्रतिनिधिलाई अनुरोध गर्दछु।'

नागरिकलाई अधिकारसहित गाँसबासको व्यवस्था गर्नु राज्यको दायित्व भएको जनाउँदै नगरपालिकाका उपप्रमुख रापचलितार महतोले वर्षौँदेखि उपभोग गर्दै आएको जमिन आफ्नो नाममा नहुँदा निराश बनेका सुकुम्बासीलाई निस्सा प्राप्ति भूमिप्राप्तिको आधार बनेको बताए।

नगरपालिकाले गत माघ २८ गते वडा नं १५ का सात सय ७६ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सापत्र वितरण गरेको थियो।

राष्ट्रिय भूमि आयोग सिराहाका अध्यक्ष रामअधिन यादवले नागरिकलाई जग्गाविहीन हुन नपरोस् भनी आयोगले काम गरिरहेको बताए।

उनका अनुसार १० वर्षसम्म एउटै जमिन जोतभोग गर्ने नागरिकलाई डेढ बिघासम्म उक्त जमिनको लालपुर्जा पाउने अधिकार हुनेछ।

सिरहा जिल्लामा अहिलेसम्म आठ हजार सुकुम्बासी र तीन हजार आठ सय अव्यवस्थित बसोबासीले जग्गा प्राप्तिका लागि आ-आफ्नो बसोबास रहेको पालिकामा निवेदन दिएका छन्।

प्रकाशित: Mar 05, 2024| 21:01 मंगलबार, फागुन २२, २०८०
प्रतिक्रिया दिनुहोस्