काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा राष्ट्रिय महाधिवेशन आगामी पौष ११, १२ र १३ मा गर्ने प्रस्ताव पेस भएको छ। बत्तिसपुतलिस्थित अनुपम फुडल्याण्ड्मा आयोजित बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गर्दै उक्त प्रस्ताव गरेका हुन्।
माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन पेश भएसँगै समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने छ। ‘मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिबारे छलफल हुँनेछ’, बैठकबारे प्रवक्ता श्रेष्ठले भने, ‘कतिपय विषयमा हिजोको स्थायी कमिटीमा पनि छलफल भएको छ।’
शुक्रबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले तत्काल मन्त्रिमण्डल विस्तार हुने सम्भावना नरहेको संकेत गरेका थिए। बैठकमा नेताहरूले वाम-लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने र सबै कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरूको मोर्चा बनाउन पहल गरिनुपर्नेमा जोड दिएका थिए।