गलेश्वर- वैदेशिक रोजगारीका क्रममा कतारमा सात वर्ष बिताएपछि गाउँ फर्किएका म्याग्दीको मालिका गाउँपालिका–६ का सङ्केत पुनलाई दोस्रो पटक विदेश जान मन लागेन।
पाँच वर्षअघि २०७४ सालमा कतारबाट दिच्याम फर्केपछि गाउँमा बाँझै रहेको तीन रोपनी जग्गालाई खनजोत गरेर पुनले तरकारी र सुन्तला खेती सुरु गरे। अहिले उनको बारीमा मौसमी र बेमौसमी तरकारी फलिरहेका छन्। गत वर्ष तरकारी बेचेर रू चार लाख आम्दानी भएको पुनले बताउँदै यस वर्षदेखि सुन्तला र कागती खेतीसमेत विस्तार गरेको जानकारी दिए।
बेनी नगरपालिका–२ बञ्चरेढुङ्गाका ५३ वर्षीय हरिलाल घिमिरेको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बित्यो। तीन दशकअघि २० वर्षे उमेरमा साहुसँग ऋण लिएर मुग्लानको बाटो समाएका घिमिरेले दश वर्ष साउदी अरब र पाँच वर्ष भारतमा काम गर्दा पनि राम्रो कमाइ गर्न नसकेपछि घर फर्किए। घर फर्केर आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने घिमिरेको जीवनमा हरियाली छाउन थालेको छ।
जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर तरकारी खेतीमा लागेको भन्दै हरिलालले अहिले जीवनको उत्तरार्धमा व्यावसायिक तरकारी खेतीले प्रशस्त आम्दानी भइरहेको बताए।
पुन र घिमिरेजस्तै बेनी–२ खबराका शोभित शर्मा, चन्द्रबहादुर कार्की, रोहोटेका चन्द्रबहादुर घिमिरे, मङ्गला–५ का टीकाकुमारी खत्रीलगायत किसानले गाउँकै थोरै खेतबारीमा पनि व्यावसायिक रुपमा गरेको तरकारी र फलफूल खेतीबाट मनग्गे आम्दानी गर्न सफल भएका छन्।
अधिकांश नेपालीहरू विदेशी भूमिमा आफ्नो पसिना बगाइरहेको अवस्थामा म्याग्दीका केही जाँगरिला युवायुवतीले आफ्नै माटोमा मनग्गे आम्दानी गर्न सफल भएका मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए। उनका अनुसार पछिल्लो समय आफ्नै देशमा केही गर्नुपर्दछ भनेर खाडीमुलुकबाट गाउँ फर्केर व्यावसायिक कृषिमा लागेका युवाको सङ्ख्या बढ्दै गएको छ।
सन् २०२१ मा कोरोना महामारीको समयमा युएईबाट गाउँमा फर्केर तरकारी खेती सुरु गरेका मालिकाकै टेकबहादुर सिउथानीको बारीमा बाह्रै महिना तरकारी खेती हुने गरेको छ। तरकारी खेतीबाटै खर्च चल्न थालेपछि विगतमा जस्तो उनलाई अहिले घरखर्च चलाउन विदेश जानुपरेको छैन।
युट्युब हेरेर तरकारी खेतीको सुरुआत गरेको बताउने सिउथानीले तरकारी बिक्री गरेर वार्षिक रू तीन लाखको हाराहारीमा कमाइ हुने गरेको बताए। ‘पहिला विदेशको भूत चढ्यो, विदेश गए पछि के के न गरिएलाजस्तो लाग्यो र ऋणधन गरेर विदेश गएँ। विदेश गएको अर्को वर्ष कोरोना महामारी सुरु भयो। काम नपाएपछि गाउँमा फर्केर सुरु गरेको तरकारी खेतीले अहिले खानबस्न समस्या छैन’, उनले भने।
सिउथानीले मोबाइलमा युट्युब हेरेर बेमौसमी तरकारी खेती गर्ने तरिका सिकेको बताए। ‘थोरै जग्गामा पनि मौसमी तथा बेमौसमी तरकारीखेती गरेर मनग्गे आम्दानी गर्न सकिँदोरहेछ भन्ने कुरा थाहा पाएपछि व्यवसायिक खेती सुरु गरेको थिएँ’, उनले भने, ‘सुरुसुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि हिम्मत हारिन। विदेशमा कमाउन नसकेको मान्छेले माटोमा पसिना बगाएर के कमाउला भनेर गिज्याए पनि म काममा निरन्तर लागिरहेँ।’
अहिले सिउथानीको खेत बारीमा गोलभेँडा, काँक्रो, करेला लटरम्मै फलेका छन्। खेतबारीमा फलेका तरकारीसँगै सिउथानीको घरपरिवारमा खुसी र सन्तुष्टि पनि छाएको छ।
म्याग्दीमा पछिल्लो समय तरकारी र फलफूल खेतीप्रति युवाको आकर्षण बढ्दै गएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार जिल्लाका एक सय बढी व्यक्ति व्यावसायिक तरकारी खेतीमा लागेका छन्। त्यसैगरी फलफूल खेतीतर्फ पनि उत्तिकै आकर्षण छ। यस वर्ष जिल्लाबाट रू २० करोड मूल्य बराबरको सुन्तला निकासी भएको केन्द्रले जनाएको छ।
केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार यस वर्ष जिल्लामा सात सय ५५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादनयोग्य भूमि रहेकामा चार सय हेक्टर क्षेत्रफलमा मात्रै सुन्तला लगाइको थियो। उक्त क्षेत्रफलमा तीन हजार छ सय मेट्रिक टन सुन्तला फल्दा न्यूनतम मूल्य प्रतिकिलो रू ५५ का दरले बिक्री गर्दा पनि कृषकले रू १९ करोड ८० लाख आम्दानी गरेका उनले जानकारी दिए।
यहाँ उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै पोखरा, काठमाडौँ, चितवन, मुग्लिनलगायतका बजारमा निकासी भएको केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख बास्तोलाले म्याग्दीका अधिकांश बगैँचाको सुन्तला निकासी भइसकेको भन्दै यस वर्ष सबैभन्दा बढी बेनी–३ भकिम्लीबाट निकासी भएको जानकारी दिए।
जिल्लाको भकिम्ली, राखु, मरेक, सुर्केमेला, बरञ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा रहेका कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा छ।
कृषि ज्ञान केन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरेका थिए।
केन्द्रकी सूचना अधिकारी सम्झना शर्माले प्रतिहेक्टर ११ मेट्रिक टनको अनुपातमा सुन्तला फलेको बताइन्। केन्द्रका अनुसार आव २०७८/०७९ मा दुई हजार एक सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुँदा रू १३ करोड जिल्लामा भित्रिएको थियो भने गत आवमा करिब तीन हजार मेट्रिक टन सुन्तला उत्पादन हुँदा रू १९ करोड बढी आम्दानी भएको थियो। यस वर्ष मङ्सिरको अन्तिम सातादेखि सुन्तला टिप्न सुरु भएको थियो। -रासस