बिहीबार, वैशाख २०, २०८१

बैंकर पक्राउमा चार संस्थाको आपत्ति

 |  बिहीबार, फागुन १७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १७, २०८०

काठमाडौं- नेपाल प्रहरीले केही समययता विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा भएका कमजोरी छानबिन गर्न आरोपित कर्मचारीलाई पक्राउ गरेको विषयलाई बैंकसम्बन्धी चार संस्थाले विरोध गर्दै उल्टो बाटो नअपनाउन आग्रह गरेका छन् ।

triton college

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै घटनामा दोषी प्रमाणित नहुँदै गरिएको धरपकडले बैंकरहरुको मनोवल घटाएको दावी गरेका छन्। ती संस्थाहरुले जारी गरेको विज्ञप्तीमा पहिले दोषी प्रमाणित भएपछि मात्रै थुन्ने विषयलाई ध्यान दिन आग्रह गरिएको छ ।

प्रहरीको धरपकडप्रति आपत्ति जनाउँदै बुधबार जारी गरिएको विज्ञप्तिमा ‘बैंकिङ कसूरसँग सम्बन्धित अनुसन्धान प्रक्रिया “पहिला सुन अनि थुन” हुनुपर्नेमा “पहिले थुन अनि सुनको” प्रक्रियाले बढावा पाएको छ । यसले बैंकरहरुको मानसिक तथा सामाजिक अवस्थामा गम्भीर असर पुर्याएको, यसबाट यस क्षेत्रमा काम गर्ने कर्मचारीहरुको मनोवल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने जाने र समग्र अर्थतन्त्रको विकासमा समेत यसले असर पुग्न जाने कुरा सम्बन्धित सबैलाई अवगत गराउन चाहन्छौँ’, उल्लेख छ ।

विज्ञप्तिमा नेपालका बैंक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, नेपाल राष्ट्र बैंकबाट जारी हुने निर्देशनहरू तथा अन्य प्रचलित ऐन, नियमको पालना गरी पारदर्शी तरिकाले बैङ्किङ कारोबार गर्दै आएको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकबाट बैङ्किङ कारोबार गर्नका लागि इजाजत पत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरूको अधीनमा रही संस्थाहरूको आ–आफ्नै नीति तथा कार्यविधि बमोजिम आ–आफ्नो अधिकार क्षेत्रभित्र रही निक्षेप संकलन तथा कर्जा लगानी गर्दै आएको जनाइएको छ । उनीहरुले बैंकका कर्मचारी, सम्बन्धित बैंक र नेपाल बैंकर्स संघ सहयोग र समन्वयको लागि सधैँ तत्पर रहेको जनाएका छन् ।

‘बैंक तथा वित्तीय संस्थाहरूमा कुनै पनि लगानी सम्बन्धी कार्य गर्दा सोमा संलग्न हुने सबै कर्मचारी तथा सञ्चालक समितिले विधिको पालना गरी असल मनसायबाट कार्य गर्दै आएको र कथंकदाचित कसैले गलत मनसाय वा नियतले काम गरेको अवस्थामा सोमा संलग्न व्यक्तिहरूलाई प्रचलित कानुन बमोजिम कारबाही हिजोका दिनमा पनि भएको र अब पनि हुनुपर्नेमा हामीमा द्विविधा रहेको छैन ।

corrent noodles
Metro Mart

यसका लागि सम्बन्धित निकायलाई आवश्यक परेको खण्डमा बैंकका कर्मचारी, सम्बन्धित बैंक र नेपाल बैंकर्स संघ सहयोग र समन्वयको लागि सधैँ तत्पर रहेको अवगत गराउन चाहन्छौँ’ विज्ञप्तिमा उल्लेख छ ।

सीआईबीले बुधबार सेञ्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्ने अन्यमा सेञ्चुरीकै अर्का पूर्व सीईओ तुलसीराम गौतम, पूर्वकर्मचारीहरु दीलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ, राजेश भण्डारी, सविन घिमिरे, सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान र सुनील बस्नेत हुन्।

उनीहरु सबै ऋण हिनामिना आरोपमा पक्राउ परेका हुन्। सेन्चुरी बैंक हालैमात्र प्रभुमा मर्ज भएको थियो। गत पुसमा प्रभु बैंकले सेञ्चुरीलाई १:१ को स्वाप अनुपातमा प्राप्ति गरेको हो। सेञ्चुरी बैंकमा रहँदा भएको घटनामा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

कमसल धितो राखेर उनीहरुले बैंकिङ कसुर गरेको बताइएको छ। उनीहरुविरुद्ध नेपाल राष्ट्र बैंक अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ।

प्रकाशित: Feb 29, 2024| 07:00 बिहीबार, फागुन १७, २०८०
प्रतिक्रिया दिनुहोस्