बिहीबार, चैत २६, २०८२

भूकम्पबाट क्षतिग्रस्त स्थानीय तह संकटग्रस्त घोषणा

 |  मंगलबार, फागुन १५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १५, २०८०

काठमाडौं-  सरकारले गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प हुँदा क्षतिग्रस्त स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

National life

यही फागुन १४ गतेको मन्त्रिपरिषद् बैठकले ती स्थानीय तहलाई विपद् संकटटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने विषयलाई लिएर प्रदर्शनका क्रममा प्रहरीले प्रहार गरेको गोली लागेर ज्यान गुमाएका सर्लाही जिल्ला बरहथवा नगरपालिका वडा नं ६ का जयशङ्कर साहको परिवारलाई आर्थिक सहायतास्वरूप रु १० लाख उपलब्ध गराउने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

बैठकले आगामी चैत १ देखि ९ गतेसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने विश्व बैंक र नेपालबीचको साझेदारीको नयाँ खाका, नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय विकास संघको दोस्रो बैठकको तयारी तथा माथिल्लो अरूण जलविद्युत् आयोजनासम्बन्धी बैठकमा अर्थमन्त्री र अर्थ मन्त्रालयका सचिवसहितको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिएको छ ।

आगामी चैत ४ मा रसियामा हुन गइरहेको राष्ट्रपतिको निर्वाचनमा पर्यवेक्षण गर्न तथा चैत २–३ सम्म आयोजना हुने ‘इलेक्ट्रोल सोभरेन्टी एण्ड इन्टरनेशनल स्टयाण्डर्ड कन्फ्ररेन्समा नेपाल सरकारलाई कुनै आर्थिक दायित्व नपर्ने गरी निर्वाचन आयोग नेपालका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।

kumari

यही फागुन १६ र १७ मा भारतीय विदेश सचिवसँग द्विपक्षीय भेटघाट एवं छलफल तथा भारतको पुनेमा आयोजना हुने एसियाली आर्थिक संवाद २०२४ को उद्घाटन समारोहमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय भएको उनले जानकारी दिइन् ।

बैठकले संयुक्त अरब इमिरेट्सको दुबईमा यही फागुन १९ गते आयोजना हुने रोजगार मेलामा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छभने यही फागुन २० देखि २९ गतेसम्म संयुक्त अधिराज्यको लण्डनमा आयोजना हुने कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई सहभागी हुन स्वीकृति दिएको छ ।

सरकारका प्रवक्ता मन्त्री शर्माका अनुसार बैठकले आगामी चैत ६ देखि ७ गतेसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने २१ औँ यातायात रुपान्तरण वार्षिक सम्मेलनमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई सहभागी हुन स्वीकृति दिएको छ । नेपाल मेडिकल काउन्सिलको रजिष्टार पदमा डा सतिसकुमार देवलाई नियुक्त गर्ने, प्रतिजैविक प्रतिरोध/एन्टीमाइक्रोवियल रेजिस्टेन्स राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ ।

नेपाल न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका पाँच अधिकृतको सरुवा एवं ३ जना अधिकृतहरूको राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद फागुन मसान्तसम्म थप गर्ने तथा डा करूणा वन्तसमेतका पाँच जनालाई विभिन्न विदेशी मुलुक/संस्थाबाट पुरस्कार/पदक/प्रसंशापत्र प्राप्त गर्न स्वीकृति दिएको छ ।

बैठकले बालकुमारी घटना जाँचबुझ आयोग, २०८० ले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि यही फागुन २० गतेभित्र सुझाव पेस गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई जिम्मेवारी दिएको छ । बैठकले सार्वजनिक खरिद (तेह्रौँ संशोधन) नियमावली, २०८० स्वीकृत पनि गरेको छ ।
 

प्रकाशित: Feb 27, 2024| 18:58 मंगलबार, फागुन १५, २०८०
प्रतिक्रिया दिनुहोस्