शुक्रबार, भदौ १२, २०८३

ललितपुरमा पनि दूध पोखे किसानले

 |  मंगलबार, फागुन १५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १५, २०८०

काठमाडौं– किसानहरुले ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि दूध पोखेर प्रदर्शन गरेका छन्। उत्पादन गरेको दूध बिक्री नभएको र भुक्तानी नपाएको भन्दै ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको अगुवाइमा किसानका संगठनहरुले मंगलबार दूध पोखेर प्रदर्शन गरेका हुन्।

यसअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एक दर्जन बढी किसान संगठनले सरकारसमक्ष १६ बुँदे माग राख्दै आन्दोलित हुने जनाएका थिए। किसानको दुग्धजन्य वस्तु बिक्री नभएको र बिक्री भएको दूधको भुक्तानी समेत नपाएको र यसप्रति पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा समेत सरकारले बेवास्ता गरेकाले आन्दोलन गर्न बाध्य भएको उनीहरुको भनाइ छ।

गत सातामात्रै चितवनमा पनि किसानले दूध पोखेर विरोध प्रदर्शन गरेका थिए।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिएका छन्।

सोमबार अर्थमन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसाल र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर  किसानको दूधको भुक्तानी तुरून्तै दिन निर्देशन दिएका हुन्।

सो क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानले पाउनुपर्ने भुक्तानी तुरून्त दिन र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

प्रकाशित: Feb 27, 2024| 12:28 मंगलबार, फागुन १५, २०८०
प्रतिक्रिया दिनुहोस्