सोमबार, वैशाख १४, २०८३

अझै पाँच जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी

 |  मंगलबार, फागुन १५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १५, २०८०

काठमाडौं- मुलुकका पाँच जिल्लाले पूर्ण खोप जिल्ला घोषणा गर्न सकेका छैनन्। नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषित हुन अझै बाँकी छन्। 

National life

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नुवाकोट र पर्सा पूर्ण खोप घोषणाको तयारीमा रहेको बताए। पूर्ण खोपका लागि दुई वर्षमुनिका बालबालिकाले शत्प्रतिशत खोप लगाएको हेरिने गरिन्छ। ती पाँच जिल्लाका १६ स्थानीय तहलाई पूर्ण खोप घोषणा गर्न बाँकी छ। 

यसैगरी, नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार चार प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित छन्। नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण, २०१६ अनुसार एक प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित हुन परेको थियो।

कोरोना महामारीका कारण बालबालिका खोप लगाउन छुटेका प्रमुख डा गौतमले बताए। ‘पूर्ण खोप नलगाएसम्म बालबालिका सुरक्षित हुँदैनन्,’ उनले भने, ‘विभिन्न रोगबाट बचाउनका लागि बालबालिकालाई सरकारले दिने निःशुल्क खोप लगाउनुपर्दछ।’

सरकारले नौ रोगका लागि १३ प्रकारका खोप बालबालिकालाई निःशुल्क उपलब्ध गराउने गर्दछ। सरकारले खोप लगाउन छुटेका बालबालिकालाई प्रत्येक वर्ष वैशाख महिनामा खोप महिनाका रुपमा मनाउँदै आएको छ। उक्त समयमा देशभरि नै खोज र खोप अभियान सञ्चालन गरी नियमित खोप छुट भएका बालबालिकालाई छुट खोप दिइँदै आएको प्रमुख डा गौतमले बताए।

kumari

गत वैशाखमा पाँच वर्षमुनिका ४० हजार चार सय ६३ बालबालिकालाई छुटेको खोप दिन सफल भएको उनको भनाइ छ। सरकारले पूर्ण खोपका सुनिश्चिताका लागि तथा दादुरा–रुबेलाको सङ्क्रमणलाई ध्यानमा राखेर दादुरा–रुबेला खोपसँगै हेपाटाइटिस बी, धनुष्टङ्कार, इन्फ्लुयन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरुद्ध खोपसमेत सञ्चालन गरेको छ।

प्रकाशित: Feb 27, 2024| 06:31 मंगलबार, फागुन १५, २०८०
प्रतिक्रिया दिनुहोस्