बिहीबार, चैत २६, २०८२

४ अस्पतालको फोहर संकलनमा काठमाडौं महानगरले लगायो रोक

 |  सोमबार, फागुन १४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १४, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि आजदेखि चारवटा अस्पतालको फोहर संकलन नगर्ने भएको छ। 

National life

महानगरले कलंकी क्षेत्रमा सहिद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल, चाबहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहर संकलनमा रोक लगाइएको ल्याण्डफिल साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए।

कामपाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन अनुगमनको क्रममा ती अस्पतालको फोहर व्यवस्थापन प्रचलित ऐनबमोजिम नभएको भन्दै रोक लगाएको हो। यसअघि पनि कामपाले कान्ति बाल अस्पतालको फोहर संकलनमा रोक लगाएको थियो। 

फोहर संकलनमा रोक लगाइएका अस्पतालहरुलाई सङ्क्रमित फोहर निःसङ्क्रमण गर्ने योजना, अस्पताल दर्ता तथा सञ्चालन गर्ने क्रममा फोहरमैला व्यवस्थापनका लागि गरिएका प्रतिबद्धतासँग सम्बन्धित कागजपत्र, अहिले फोहर व्यवस्थापनका लागि सहकार्य गरिएका संघसंस्थाहरुको विवरण लिएर तीन दिनभित्र महानगरपालिकाको वातावरण व्यवस्थापन विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

'ल्याण्डफिल साइटमा मानव स्वास्थ्यका निम्ति हानीकारक फोहर नपुगोस् भनेर हामीले अनुगमन गरेका हौँ। अनुगमनका क्रममा फोहर व्यवस्थापन अभ्यास हेर्दा फरक  अवस्था देखिएको छ,' श्रेष्ठले भने, 'सङ्क्रमित फोहरको व्यवस्थापन उत्पादक आफैको हुन्छ। अस्पतालहरुको अवस्था हेर्दा सबैको एकै किसिमको गल्ती छैन, कसैले तत्काल सुधार गर्न सक्ने देखिन्छ। कुनै अस्पतालको फोहर व्यवस्थापनका लागि पूर्वाधार र संयन्त्र नै बनाउनु पर्ने देखिएको छ। यसका आधारमा रोकिएको फोहरको सम्बन्धमा निर्णय गरिनेछ।’

kumari

फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउन कामपाले विगत दुई हप्तादेखि अस्पतालजन्य फोहरको नियमित अनुगमन र आवश्यक निर्देशन दिँदै आएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई स्वास्थ्यजन्य फोहरमैला सङ्लन, पुनः उपयोग, प्रशोधन, विसर्जन र त्यसको सेवा शुल्क निर्धारण र नियमन गर्ने अधिकार दिएको छ।

साथै स्वास्थ्य संस्थाहरुले चिकित्साजन्य फोहरको उचित व्यवस्थापन नगरे त्यस्ता संस्थाहरुलाई दण्ड गर्ने अधिकार पनि स्थानीय सरकारलाई दिएको छ। 

प्रकाशित: Feb 26, 2024| 10:20 सोमबार, फागुन १४, २०८०
प्रतिक्रिया दिनुहोस्