बिहीबार, चैत २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • दुर्घटनामा परेका नागरिकलाई भीमसेन थापा गाउँपालिकाले दियो उपचार खर्च

दुर्घटनामा परेका नागरिकलाई भीमसेन थापा गाउँपालिकाले दियो उपचार खर्च

 |  आइतबार, फागुन १३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १३, २०८०

गोरखा- गोरखाको भीमसेन थापा गाउँपालिकाले दुर्घटनामा परेका नागरिकलाई दुर्घटना बिमामार्फत उपचारबापतको रकम भुक्तानी गरेको छ।

National life

पालिकाभित्रका सबै नागरिकको निःशुल्क रूपमा सामूहिक दुर्घटना बिमा गरिदिएको गाउँपालिकाले कार्यक्रम लागू भएपछि दुर्घटनामा परेका दुईजनालाई रकम भुक्तानी गरेको हो।

बिमा पोलिसीअनुसार उपचारका क्रममा खर्च भएको रकम बिमामार्फत भुक्तानी गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिए। 

‘खाटमा सुतेका वेला लडेर घाइते भएका वडा नम्बर ७ स्थित बोर्लाङका डिल्लीराम रेग्मी र धान कुट्ने मिलले औँला काटेर घाइते भएकी कल्पना श्रेष्ठलाई वडामा पुगेर उपचार खर्च उपलब्ध गराएका हौँ,’ उनले भने, ‘पालिकाले राष्ट्रिय बिमा कम्पनी लिमिटेडसँग गरेको सम्झौताअनुसार दुर्घटनामा परेका नागरिकले उपचार खर्च पाएका छन्।’

गत असार ३१ गते खाटबाट लडेर घाइते भएका रेग्मीले उपचारका लागि खर्च भएको रु. नौ हजार पाँच सय ७० र गत कात्तिक २ गते मिलले हात काटेर घाइते भएकी श्रेष्ठले रु. तीन हजार तीन सय २५ बिमामार्फत प्राप्त गरेका हुन्। 

kumari

पालिकाभित्रका सबै १६ हजार नौ सय ८६ नागरिकको निःशुल्क दुर्घटना बिमा गरिएको अध्यक्ष बञ्जराले बताए। राष्ट्रिय जनगणना ०७८ को अन्तिम प्रतिवेदनका आधारमा पालिकामा बसोवास गर्दै आएका तथा पालिका स्थायी ठेगाना भएका सबै नागरिकको सामूहिक दुर्घटना बिमा गरिएको उनको भनाइ छ।

अध्यक्ष बञ्जराले भीमसेन थापा गाउँपालिका स्थायी घर भएका नागरिक कुनै प्रकारको दुर्घटना परे उपचार बिमा पोलिसीअनुसारको खर्च र ज्यान गुमाएमा सम्बन्धित व्यक्तिका परिवारले रु. ५० हजार पाउने गरी पालिकाले निःशुल्क दुर्घटना बिमा गरिदिएको बताए। 

कम्पनीसँगको सम्झौताअनुसार दुर्घटनामा परेका दुवैजना बिमितले पोलिसीको अधीनमा रही सक्कली बिल बुझाएपछि कम्पनीले गाउँपालिकालाई रकम उपलब्ध गराएको कार्यक्रमका फोकलपर्सन जीवन सुर्खेतीले जानकारी दिए। उनका अनुसार उक्त रकम पालिकाले बिमितलाई हस्तान्तरण गरेको हो।

प्रकाशित: Feb 25, 2024| 21:01 आइतबार, फागुन १३, २०८०
प्रतिक्रिया दिनुहोस्