बिहीबार, चैत २६, २०८२

दूध बेचेर दैनिक २५ हजारसम्म कमाउँछन् घोकेचौरका सुरेन्द्र

 |  सोमबार, फागुन १४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १४, २०८०

धुलिखेल- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-५ घोकेचौरका सुरेन्द्र थापा बिहानदेखि बेलुकासम्म आफ्नै भैँसी फार्ममा व्यस्त हुन्छन्। ‘शु-कृष्ण एग्रो कृषि फार्म’ मा गाईभैँसी पालन गर्दै आएका उनले दूध बेचेर दैनिक २० देखि २५ हजार रूपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

National life

घर नजिकै फार्म सञ्चालन गरेका सुरेन्द्रले दैनिक दुईसय ५० देखि दुईसय ६० लिटरसम्म दूध बिक्री गर्ने गरेको बताए। परिवारका सबैले फार्ममा सहयोग गरेका छन्। उनका अनुसार एक जनाले रोजगारीसमेत गरिरहेका छन्। बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म फार्ममा काम गर्दै आइएको उनको भनाइ छ।

पाँच वर्ष अगाडि सुरेन्द्रले सुरु गरेको फार्ममा अहिले २० भैँसी र सात गाई गरी २७ वटा चौपाया छन्। तीन भैँसीबाट फार्म सञ्चालन गरेको भन्दै उनले करिब १२ लाख रूपैयाँमा लगानी भएको जानकारी दिए। उनले फार्म निर्माण, व्यवस्थापनलगायत काममा हालसम्म पचास लाख खर्च भएको बताए।

फार्म सञ्चालन गर्नुअघि इराकमा दुई वर्ष बसेर फर्किएको सुनाउँदै सुरेन्द्रले गाउँमा व्यावसायिक फार्म सुरु गरेको बताए। 'भैँसी पाल्न सुरु गर्नुअघि गाउँमा दुई हजार पाँच सय कुखुरा, दुई वटा गाई पालेको थिएँ। साथै तरकारी खेती पनि गरेको थिएँ', उनले भने, 'पछि व्यावसायिक रुपमा फार्म सञ्चालन गरेर पशुपालनलाई विस्तार गर्दै लगेको हुँ।'

फार्मबाट मनग्य आम्दानी भए पनि गाईभैँसीलाई खुवाउने दाना, घाँस, पराललगायत खाद्यान्न सामग्री किन्नुपर्ने भएकाले अझै सोचेजस्तो फाइदा लिन नसकेको सुरेन्द्रको भनाइ थियो। 'बजारमा बसेर फार्म सञ्चालन गर्न कठिन छ। सबैचिज किनेर पूर्ति गर्नुपर्छ', उनले भने, 'दुःख गरे अनुसार थोरै फाइदा भइरहेको छ। यसैमा खुसी छौँ।'

kumari

आफ्नै जग्गामा फार्म सञ्चालन गरेकाले जग्गाको भाडा तिर्नुपर्ने समस्या नभएको सुरेन्द्रको भनाइ छ। उनले बेलाबेलामा विभिन्न रोगले संक्रमण हुने भएकाले पशु प्राविधिकको सहयोग लिनुपर्ने, औषधि गर्नुपर्नेलगायत समस्या आउने गरेको उनले बताए।

नगरपालिकाले २० वटा भैँसीको बीमा गरिदिएको भन्दै सात गाईको बीमा गर्न बाँकी रहेको सुरेन्द्रले सुनाए। 'राज्यको किसानलाई थोरै भएपनि सहयोग गरिदिए वास्तविक किसानलाई धेरै राहत पुग्छ', उनले भने, 'कमाइ भएको रकम फार्ममा नै लगानी गरेर बढाउँदै लगिरहेकाले अझै धेरै विस्तार गर्न बाँकी छ।'

फार्मबाट उत्पादन भएको गोबरलाई प्रयोग गरेर गोबर ग्यास निकाल्न आवश्यक तयारीमा भइरहेको सुरेन्द्रले जानकारी दिए। दूध दुहुने र दाना बनाउने उपकरण सरकारले सहयोग गरेमा व्यवसायलाई थप विस्तार गर्ने उनको भनाइ छ।

व्यवसायबाट छोराछोरीलाई पढाउन, घरखर्च चलाएर र अलिअलि बचत गर्न पुगेको सुरेन्द्रकी श्रीमती लक्ष्मी थापाले बताइन्। गाउँमै व्यवसाय गर्न, घरपरिवारसँगै काम गर्न मिल्ने, आवश्यक परेमा छिमेकीसँग ऋण माग्न पनि सकिने भएकाले आम्दानीका लागि विदेश नै जानु नपर्ने उनको भनाइ छ।

फार्ममा खोले पकाउने, दूध दुहुनेलगायत काम गर्दै आएका धनबहादुर न्यौपानेले फार्ममा रोजगार गर्न थालेदेखि जीविकोपार्जनमा सहज भएको बताए।

बनेपा-५ का वडाध्यक्ष बलराम अधिकारीले युवापुस्ता विद्यालय तहको अध्ययन सकिएपछि विदेशतिर जाने लहर चलिरहेको अवस्थामा युवाले थालनी गरेको काममा नगरपालिका र वडाको तर्फबाट सहयोग गर्दै आएको बताए। उनले युवालाई व्यावसायिक फार्म सञ्चालनमा सदैव सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए।

लम्पीस्कीन सङ्क्रमणले पशुधनमा क्षति पुर्‍याएपछि नगरपालिकाले पशुचौपायको निःशुल्क बीमा गर्ने अभियान सञ्चालन गरेअनुरुप सुरेन्द्रको फार्ममा रहेका पशुको बीमा गरिएको वडाध्यक्ष अधिकारीले बताए।

किसानका पशुचौपायमा कुनै रोग वा सङ्क्रमण भएर केही समस्या देखापेरमा फोनमार्फत जानकारी गराउन अनुरोग गर्दै उनले नगरको पशुपक्षी शाखामार्फत प्राविधिक सेवा दिने व्यवस्था मिलाइएको जानकारी दिए। वडाभित्रका किसानलाई कुनै समस्या भएमा तत्काल सम्बन्धित ठाउँमा पुगेर सेवा दिनका लागि दुई जना प्राविधिकको व्यवस्था गरिएको अधिकारीले बताए।    -रासस

प्रकाशित: Feb 26, 2024| 06:02 सोमबार, फागुन १४, २०८०
प्रतिक्रिया दिनुहोस्