बिहीबार, चैत २६, २०८२

झोलुंगे पुल समयअघि नै बनेपछि पक्कीको आशा

 |  आइतबार, फागुन १३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १३, २०८०

जनकपुरधाम- धनुषा र सिराहा जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमाथि मोटरेबल पुल निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि पूरा भएको छैन। तर, सोही निर्माणाधीन पुल नजिकै नेपालकै सबभन्दा लामो ‘कठाल मल्हनिया मल्टिस्पान’ झोलुङ्गे पुल सम्झौता अवधिभन्दा झण्डै छ महिनाअघि सम्पन्न भएको छ।

National life

धनुषाको जनकनन्दिनी गाउँपालिका-६ कठाल र सिराहा नगरपालिका-१३ मल्हनिया जोड्ने सो पुल निर्माण सक्नुपर्ने अवधि २०८१ साल असार ११ सम्म थियो। निर्माणको जिम्मा पाएको श्री सपना/उमा एण्ड कम्पनी र थानी जेभी बत्तीसपुतली काठमाडौँले समयअगावै अर्थात् गत माघ १८ गते नै पुल निर्माण पूरा गर्‍यो। सोही पुलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विधिवत् उद्घाटन गरे।

त्यस अवसरमा प्रधानमन्त्री दाहाललाई स्थानीय र जनप्रतिनिधिले अब कमला नदीमाथिको निर्माणाधीन मोटरेबल पुललाई छिटोभन्दा छिटो टुङ्ग्याउने गरी पहलकदमी लिन आग्रह गरे। ‘नदी तर्नका लागि त यो पुलले निकै सजिलो भएको छ तर मोटरगाडी नचल्ने भएकाले हाम्रा ठूला दुःख त बाँकी नै छन्। छिट्टै पुल निर्माण हुन्छ भन्ने आशा छ,’ स्थानीय ८३ वर्षीय सत्यनारायण साहले भने।

उनले नजिकैको पुल समय अगावै पूरा हुने र अर्को पुल १२ वर्षसम्म पनि पूरा नहुने भन्दै समस्या समाधान गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।  ‘बजेट छैन भने सरकारले दिनुपर्‍यो। बजेट भएर पनि काम गरेको छैन भने ठेकेदारलाई छिटो गर्न भन्नुपर्यो,’ उनले भने, ‘हामी झोलुङ्गे पुल बने पनि उताको दुःख कसरी बिर्सिन सक्छौं ?’

स्थानीय राजुदेवी दासले पनि झोलुङ्गे पुलले केही राहत भए पनि वर्षौंदेखिको समस्याबाट मुक्तिका लागि उत्तम विकल्प मोटरेबल पुलको निर्माण नै भएको बताए। उनले प्रधानमन्त्री नै आएकाले अब मोटरेबल पुल चाँडो बन्ने आशा जागेको बताए।

kumari

‘झोलुङ्गे पुलले नजिकका बस्ती, साइकल, मोटरसाइकलमा जानेलाई केही राहत भयो तर गाडी चल्ने पुल निर्माण नहुँदा सबै समस्या समाधान भएका छैनन्। त्यसैले त्यो पुल चाँडै बनाउनका लागि भन्नुपर्छ,’ दासले भने।

दासको जस्तै भनाइ छ स्थानीय सरस्वतीदेवी दासको पनि। कमला नदीमा पानी बढेका बेला जोखिम मोलेर जानुभन्दा झोलुङ्गे पुलको प्रयोग गर्नु आफूहरूका लागि सुरक्षित भएको उनको भनाइ छ। उनले भने, ‘यो पुल निर्माण भएकोमा सरकारलाई धन्यवाद छ। अब १२ वर्षसम्म बन्न नसकेको पुल पनि चाँडै बनोस् भन्ने चाहना छ। प्रधानमन्त्री नै आउनुभएपछि केही आशा पलाएको छ।’

सत्यनारायण, राजुदेवी र सरस्वती मात्रै होइन धनुषा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामकृष्ण यादव र प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले पनि प्रधानमन्त्री दाहाललाई हुलाकी सडकअन्तर्गतको मोटरेबल पुल चाँडो निर्माणका लागि पहलकदमी लिन आग्रह गरे।

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सांसद यादवले हुलाकी सडकअन्तर्गत कमला नदीमाथि बनिरहेको पुल यथाशीघ्र निर्माणका लागि निर्देशन दिन आग्रह गरे।

उनले भने, ‘निर्माण सुरु भएको वर्षौंसम्म पनि कमला नदीमाथि मोटरेबल पुल बन्न सकेको छैन। प्रधानमन्त्रीले त्यसबारे जानकारी लिई तत्काल निर्माण सम्पन्न गर्न निर्देशन दिन आवश्यक छ। त्यसका लागि म ध्यानाकर्षण गराउन चाहन्छु।    -रासस

प्रकाशित: Feb 25, 2024| 22:01 आइतबार, फागुन १३, २०८०
प्रतिक्रिया दिनुहोस्