बिहीबार, चैत २६, २०८२

गोदाममा थन्कियो ७५ करोडको दूध र घ्यू, मिल्क होलिडेको चिन्ता

 |  आइतबार, फागुन १३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १३, २०८०

चितवन- भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेका चितवन मिल्क उद्योग गत माघ २२ गतेदेखि बन्द छ। प्रशोधन गरिएको नौनी घ्यू (बटर) र धुलो दूध बिक्री नभएर भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द भएको हो।

National life

उद्योगले डेरी, सहकारी र व्यावसायिक फर्महरुको दूध भाडामा प्रशोधन गर्ने गरेको थियो। पछिल्लो समय दूध ल्याएका संस्थाले प्रशोधित दुग्धजन्य पदार्थ बिक्री नभएर लैजान छोडेपछि भण्डारमा थन्किएको उद्योगका प्रबन्धक दुर्गा पराजुलीले जानकारी दिए ।

उनका अनुसार रु ७५ करोडभन्दा बढीको प्रशोधन गरिएका नौनी र धुलो दूध भण्डारणमा थन्किएको छ। पाँच सय टन नौनी घ्यू भण्डारणमा रहेको भन्दै उनले उद्योगमा तीन सय र ५०÷५० टनका तीन वटा कोल्डस्टोर तथा तिनका चार प्यासेज घ्यूले भरिएका जानकारी दिए ।
 
“उद्योगले १५ किलोको घ्यूका प्याकेट निर्माण गर्ने गर्दछ। तिनलाई चाङ लगाएर कोल्डस्टोरमा राखिएको छ”, प्रबन्धक पराजुलीले भने, “घ्यू कोल्डस्टोरमा माइनस २० डिग्री सेन्टिग्रेट तापक्रममा राख्नुपर्ने हुन्छ। विद्युत् आपूर्ति नहुँदा जेनेरेटर चलाउनुपरेको छ।”

उद्योग बन्द भएपनि झण्डै रु १६ लाखको बिजुली र रु १० लाख हाराहारीको डिजेल खर्च हुने गरेको उनले जानकारी दिए । योसँगै उद्योग सञ्चालन हुँदा रु ४० लाख हाराहारीको भुस प्रयोग हुने गरेको उनको भनाइ छ।
 
प्रशोधन गरिएको घ्यू रु सात सय हाराहारी प्रतिकिलोमा बिक्री हुने गरेको छ। ठाउँ अनुसार प्रशोधन गरेका संस्थाले दररेट तय गर्ने गर्दछन्। यस हिसाबले पनि रु ४० करोडभन्दा बढीको घ्यू भण्डारणमा रहेको पराजुलीले बताए। उनका अनुसार २० हजार बोरा पाउडर दूध भण्डारण गरेर राखिएको छ।

“एक बोरामा २५ किलो हुन्छ। दूध प्रतिकिलो बजारमा रु सात सय हाराहारीमा बिक्री हुने गरेको छ। खुद्रा बिक्री हुँदा दररेट संस्थाले केही बढी तय गर्ने गरेका छन्। यसरी हेर्दा रु ३५ करोड भन्दा बढीको पाउडर दूध भण्डारणमा छ”, उद्योगका प्रबन्धक पराजुलीले भने। उनका अनुसार प्रशोधित दूध बिक्री नहुँदा किसानले भुक्तानी पाएका छैनन् भने उद्योगले प्रशोधन शुल्क पाउन सकेको छैन।

kumari

पाउडर दूधले गोदाम, क्यान्टिन, घ्यू तथा दही बनाउने ठाउँ, चिनीको गोदाम, कपडा फेर्ने ठाउँ सबै भरिएका पराजुलीको भनाइ छ। डेरी उद्योग र सहकारीलाई सामान लैजान ताकेता गरिरहेको भए पनि नलगेपछि उद्योग सञ्चालन गर्नै नसकेर बन्द गरिएको उनले बताए ।
 
विसं २०६४ मा स्थापना गरिएको उक्त उद्योग भूकम्पसँगै बन्द भएको थियो। विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ। प्रतिलिटर पाउडर दूधको रु एक सय १३ र घ्यू (बटर) को प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ।
 
एकतिस वटा डेरी उद्योग, निजी फर्म र सहकारीको दूध भण्डार भएर बसेको छ। उत्पादित सामग्री बिक्री हुन नसकेपछि उद्योग आर्थिक रुपमा समेत समस्यामा परेको छ। प्रशोधन समेत रोकिएपछि ‘मिल्क होलिडे’को सम्भावना बढेर गएको भन्दै किसान चिन्तित भएका छन्।

 

प्रकाशित: Feb 25, 2024| 15:09 आइतबार, फागुन १३, २०८०
प्रतिक्रिया दिनुहोस्