शनिबार, फागुन २३, २०८२

जन्तेढुंगा गाउँपालिकाका सामुदायिक स्वास्थ्य इकाइ बन्द हुँदै

 |  आइतबार, फागुन १३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १३, २०८०

खोटाङ- जन्तेढुङ्गा गाउँपालिकाका नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले तीन वर्षअघि गाउँगाउँमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको थियो। विसं २०७४ मा स्थानीय सरकारले स्थापना गरेका ६ सामुदायिक स्वास्थ्य इकाइमध्ये चारवटा बन्द भएका छन्। 

National life

स्वास्थ्य सेवा लिनका लागि घण्टौँ हिँड्न बाध्य नागरिकलाई मध्यनजर गर्दै स्वास्थ्यचौकी सरह सेवा दिनेगरी गाउँपालिकाले छ स्थानमा इकाइ स्थापना गरिएकामा अहिले जन्तेढुङ्गा–१ देविस्थानको सिक्किमटार र जन्तेढुङ्गा–२ बोपुङको डुम्रीकोटे सामुदायिक स्वास्थ्य इकाइमात्र सञ्चालनमा छन्। 

स्वास्थ्य इकाइको उचित व्यवस्थापनमा गाउँपालिका प्रशासनले बेवास्ता गर्दा वडा नं ४ डम्बर्खुशिवालयस्थित बाम्राङ र कात्तिके सामुदायिक स्वास्थ्य इकाइ, वडा नं ५ चिसापानीको खुटा छिरुवाधारा र मातेपानी सामुदायिक स्वास्थ्य इकाइ बन्द भएका जन्तेढुङ्गा–४ का वडाध्यक्ष विदुरमान राईले जानकारी दिए। राजनीतिक स्वार्थका कारण इकाइ बन्द गरिएका उनले आरोप लगाए।

खुटाछिरुवाधारामा विसं २०७७ कातिक २७ गते र कात्तिकेमा विसं २०७७ फागुन ५ गते विशेष समारोहका बीच स्वास्थ्य इकाइ स्थापना गरिएको थियो। उद्घाटन भएको केही समयसम्म सञ्चालन भएर बन्द गरिएका ती इकाइबाट अहिले गाउँघर क्लिनिक र खोप सेवामात्र सञ्चालन हुने गरेका स्थानीय बताउँछन्। 

खुटाछिरुवाधारामा इकाइ सञ्चालनका लागि गाउँपालिकाको लगानीमा भवनसमेत बनाइएको थियो। अघिल्लो स्थानीय सरकारले स्थापना गरेका इकाइमध्ये आवश्यकीय स्थानकालाई निरन्तर सञ्चालन गरिएको भन्दै अनावश्यक स्थानकालाई बन्द गरिएको गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्काले बताए। उनका अनुसार जनशक्ति राख्ने आन्तरिक श्रोत नभएकाले अनावश्यक ठाउँका सामुदायिक स्वास्थ्य इकाइ बन्द गरिएको हो।

Laxmi sunrise bank
kumari

‘अघिल्लो जनप्रतिनिधिले स्थापना गरेको भनेर इकाइ सञ्चालन नगरिएको होइन। जनशक्ति राख्ने आन्तरिक आयश्रोतको अभावमा बन्द गर्नुपरेको हो’, उपाध्यक्ष खड्काले भने, ‘निरन्तरता दिनका लागि जनशक्ति अभाव छ। कतिपय इकाइ कार्यालय सहयोगीको भरमा सञ्चालनमा रहेकाले बन्द गर्नुको विकल्प थिएन। अति आवश्यकीय ठाउँमा बाहेक अन्य बन्द गरिएको हो।’

जनशक्ति तथा आवश्यक उपकरण, फर्निचरलगायत सामग्रीको व्यवस्थापन नगरी स्थापना गरिएका चार इकाइबाट हाल गाउँघर क्लिनिक र खोप कार्यक्रम सञ्चालन हुँदै आएको गाउँपालिकाले जनाएको छ।  बामोल सामुदायिक स्वास्थ्य इकाइ भने स्थापना भए पनि उद्घाटन भएर सञ्चालन नै नभएको स्थानीय बताउँछन्। 

प्रकाशित: Feb 25, 2024| 09:28 आइतबार, फागुन १३, २०८०
प्रतिक्रिया दिनुहोस्