शनिबार, साउन १२, २०८१

स्थानीय कृषि उत्पादन किन्दै भंगाहाका सहकारी

 |  शुक्रबार, फागुन ११, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ११, २०८०

महोत्तरी- उत्पादित फसल बेच्न बजार-बजार दौडनु नपरेपछि महोत्तरीको भंगाहा नगरपालिका र आसपासका किसान उत्साहित भएका छन्। यहाँ उत्पादित ओल र मसला स्थानीय कृषि सहकारी संस्थाले किन्न थालेपछि बजारीकरणको समस्या समाधान भएको हो।

triton college

भंगाहा-४ रामनगरस्थित गढीमाई कृषि सहकारी संस्थाले चलनचल्तीको मूल्यमा पालिका र आसपासका किसानका ओल र मसला किन्दै आएको छ।

'उत्पादन राम्रो गराउन थप मेहनत गर्नुपर्ने भएको छ', किसान राजकुमार दासले भने, 'अहिले फसल बेच्न बजारबजार दौडनु पर्दैन। संस्थाले ओल र मसला किन्न थालेपछि बजारको चिन्ता हटेको छ।'

तराईको विशेष तरकारी मानिने ओल र बेसार, खोर्सानी एवं अदुवा मिसाएर बनाइएको मसला सहकारी संस्थाले किन्न थालेपछि किसान बिक्रीको कुराबाट ढुक्क भएका हुन्।  

बर्दिबास-७ का रामउद्गार महतोले भने, 'पहिलेपहिले ओल खेती गरेपछि बजारको चिन्ता हुन्थ्यो, अब ढुक्क छौँ।'

Metro Mart
vianet

संस्थाले आफ्नो बस्तीसँगै जोडिएका बर्दिबास-७ र ९, तथा धनुषाको बटेश्वर गाउँपालिकाका खोरिया, भूचक्रपुर र राजसखुवासम्मका किसानका ओल र मसला उत्पादन किन्ने गरेको छ।

संस्थाले तरकारी, अचार बनाइने ओल र मसला जातिका अदुवा, बेसार र खोर्सानी किन्न थालेपछि भंगाहा, बर्दिबास, प्रेमनगर, बटेश्वरलगायत स्थानका किसानलाई बजारको चिन्ता हटेको छ।

'अघिअघि ओल, अदुवा बेच्न टाढाटाढाको बजार गइन्थ्यो। अहिले गढीमाई सहकारीले किन्न थालेपछि धेरै सजिलो भएको छ', प्रेमनगरका ओल किसान सुफल महतोले भने।

'हर्दी (बेसार), खोर्सानी र अदुवा हाम्रो यताका मुख्य मसला खेती हुन्। यी सबै संस्थाले किन्छ',  पशुपतिनगरकी पारोवती महतोले भनिन्, 'संस्थाले किन्न थालेपछि ढुक्क भएका छौँ। आम्दानी पनि प्रशस्त हुन थालेको छ। रकम एकमुष्ट पाइने भएपछि गरगहना जोरजाम र अन्य महत्वपूर्ण गर्जो टार्न पाइएको छ।'

संस्थाले बीउ वृद्धि र बाहिरी बजारको आपूर्ति गर्न थालेपछि स्थानीय  उत्पादन किन्न थालेको जनाएको छ। अहिले दैनिकजसो नै ओल र मसला तौलाउन किसान आउने गरेका संस्थाका अध्यक्ष सत्यनारायण यादवले बताए। उनका अनुसार गत असोजयतादेखि संस्थाले करिब १० लाख रुपैयाँभन्दा बढीको उक्त उत्पादन किनेर मुलुकका विभिन्न स्थानमा पठाएको छ।

यहाँको ओल बीउका लागि सूदुरपश्चिमको डडेलधुरासम्म पुर्‍याइएको अध्यक्ष यादवले जानकारी दिए। 'अहिले अन्य जिल्लाका कृषि सहकारीले ओल, बेसार र अदुवा माग्ने गरेका छन्', उनले भने, 'यस वर्ष हालसम्म पूर्वको कोशी र पश्चिमको कञ्चनपुर, कैलाली र डडेलधुरासम्म दुई सय क्विन्टलभन्दा बढी ओल पठाएका छौँ।' 

संस्थाको आफ्नै कार्यालय भवन र सुरक्षित भण्डार कक्ष भएकाले किनिएका सामग्री सुरक्षित भण्डारण गरेर मागअनुसार अन्यत्र पठाइने गरिएको यादवको भनाइ थियो। 

गढीमाई कृषि सहकारी संस्थाले स्थानीय उत्पादन किन्न थालेपछि उत्पादनमा पनि वृद्धि हुँदै गएको कृषि ज्ञानकेन्द्र महोत्तरीले जनाएको छ। महोत्तरीका भंगाहा, बर्दिबास र गौशाला नगरक्षेत्र ओल र मसलाखेतीको उर्वर क्षेत्र मानिन्छ। रासस

प्रकाशित: Feb 23, 2024| 21:01 शुक्रबार, फागुन ११, २०८०
प्रतिक्रिया दिनुहोस्