अगस्ट १४ तारिख। चिनियाँको प्रेम दिवस। तर, चिनियाँ प्रेम दिवसको तिथिमिति थापा पाउन चिनियाँ लुनार पात्रो हेर्नुपर्ने हुन्छ। चिनियाँहरू घरेलु प्रेम दिवस पनि मनाउँछन् र बाह्य जगतको प्रेम दिवसमा पनि रमाउँछन्। यसपटक भने अगस्ट १४ तारिख चिनियाँ प्रेम दिवस परेको छ। प्रेम दिवसकै सन्दर्भमा विश्वका एकजना शक्तिशाली नेता तथा चिनियाँ राष्ट्रपति सी चिनफिङको प्रेम कहानी कस्तो छ, हामीले सोधखोज गरेका छौं।
मान्छेहरूलाई लाग्दाे हाे, चीनका राष्ट्रिय दम्पती राष्ट्रपति सी चिनफिङ र श्रीमती फङ ली युआनको प्रेम कहानी उतारचढावयुक्त होला। तर, यिनीहरूको प्रेमकथा बाहिर सोचिएको जस्तो छैन। चिनियाँ राजनीतिमा यिनीहरू सक्रिय पात्र हुन् भने मायाप्रेमको दुनियाँ र देशसेवाको भूमिका यिनीहरूले कसरी निर्वाह गरिरहेका होलान् भन्ने पाटो भने सबैका लागि चासोको विषय हो।
चीनका राष्ट्रपति सी चिनफिङ र श्रीमती फङ ली युआनको प्रेमकथा यसरी सुरू हुन्छ-
राजनीतिक पृष्ठभूमिबाट आएका सी चिनफिङलाई डुबिरहने फुर्सद हुन्थेन। उनले निकै कठोर परीक्षाहरू पार गरेर राजनीतिमा प्रवेश पाएका हुन्। जब कि संसारका धेरैजसो देशमा बाउआमा जुन क्षेत्रमा थिए, सन्तानले पनि सजिलै प्रवेश पाउँछन्। तर, उपप्रधानमन्त्री सी चोङस्विनका छोरा भएर पनि सी चिनफिङले आफ्नै बलबुँताले राजनीतिमा पाइला चालेका हुन्। राजनीतिक संघर्षका कारण विश्वका विभिन्न देशका नेताहरूले बिहे गर्ने फुर्सद नपाएको भन्ने कुराहरू सुनिन्छ। तर, सी चिनफिङले अन्ततः सन् १९८७ को सेप्टेम्बरमा विवाह गरिछाडे। व्यस्तता, अभाव वा सामाजिक अनुशासनका कारण भव्य वैवाहिक समारोह गर्न नपाए पनि सामान्य सहकर्मी र साथीलाई भोज खुवाएर उनीहरूको विवाह गरिएको थियो।
सन् २००४ मा चच्याङ प्रान्तको सचिव पदमा रहेका बेला सी चिनफिङले अन्तर्वार्ता दिँदै भनेका थिए, ‘मेरो एउटा निकै सुखी परिवार छ। हरेक दिन मैले श्रीमतीलाई टेलिफोन गर्दछु, बिहेका एक दर्जन वर्षयता हरेक दिन टेलिफोन गर्दै आएको छु।’

विवाहअघि जस्तै सी चिनफिङ काममा धेरै व्यस्त हुन्थे भने सैन्य कलाकार भएकाले फङ ली युआन पनि देशका विभिन्न क्षेत्रमा साँगितिक प्रदर्शन गर्नका लागि डुलेको डुल्यै गर्थिन्। कामको प्रकृति अनुसार एकै ठाउँमा स्थिर नहुने भएकाले यी दुईबीचमा भेट्ने समय निकै कम हुन्थ्यो।
जत्ति टाढा, उत्ति माया गाढा भनेजस्तै सी र फङबीचमा एकआपसी हेरचाह र समझदारी गहिरो थियो। राजनीतिक जिम्मेवारीका सिलसिलामा सी चिनफिङ फुच्यान प्रान्तमा खटिएका थिए। कुनै बेलामा एक जाडो ऋतुमा फङ ली युआनले कम्बल बनाएर पठाएकी थिइन्। उस्तै तरिकाले प्रिङ फेस्टिभलको कुनै अवधिमा फङ ली युआन सांगीतिक प्रस्तुतिमा व्यस्त भएका बेला सी चिनफिङले पनि घरमा खानेकुरा तयार पारेर फङलाई पर्खिएको कुराले उनीहरू दुईबीच गहिरो माया रहेको पुष्टि हुन्छ।
सन् २००४ मा चच्याङ प्रान्तको सचिव पदमा रहेका बेला सी चिनफिङले अन्तर्वार्ता दिँदै भनेका थिए, ‘मेरो एउटा निकै सुखी परिवार छ। हरेक दिन मैले श्रीमतीलाई टेलिफोन गर्दछु, बिहेका एक दर्जन वर्षयता हरेक दिन टेलिफोन गर्दै आएको छु।’

चीनको राष्ट्रपति पदमा पुगे पनि सीले पारिवारिक मायामा कुनै कमी राखेको देखिँदैन। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमणका धेरै अवसरमा उनीहरू दुवै जना सँगसँगै देखिएका हुन्छन्। एकअर्कासँग टाँसिएर हँसिलो अनुहारमा उनीहरू देखिँदा एउटा भरिपूर्ण मायाको प्रभाव सर्वसाधारणमा छचल्किन्छ।
सी चिनफिङ र फस्ट लेडी फङ् ली युआनको भेट ब्लाइन्ड डेटबाट भएको हो। सीका साथीहरूले भेटाइदिएको कुनै युवतीसँग उनीहरू दुवैले आफ्नै प्रयासमा भावना मिलाएर प्रेमको दुनियामा डुबुल्की मारेका थिए।
एकपटक अस्ट्रेलियामा सी चिनफिङले ‘स्ये लौंङ’ नम्बर अन्टार्टिका वैज्ञानिक अध्ययन भ्रमणमा गर्दा अग्ला पाइला चढ्दै फङ ली युआनको हात तानेर समाते। भारतमा सँगसँगै पिङ खेले, जसबाट चिनियाँमा गहिरो प्रभाव परेको देखिन्छ। सी र फङबीच माया दर्शाउने अनेक कुराहरू छन् जुन अहिलेको पुस्ताले निकै हार्दिकताका साथ लिने गरेको छ। जस्तो कि चीनमा यसअघिका राष्ट्रपतिहरूले फस्ट लेडीलाई सार्वजनिक स्थानमा लैजाने वा प्रस्तुत गर्न कन्जुस्याइँ गर्दथे। महिलाले आधा आकाश ढाकेको भनेर उच्च प्रशंसा गरे पनि उनीहरूले आफ्नी श्रीमतीलाई सार्वजनिक रूपमा उदार ढंगले प्रस्तुत गर्दैनथे। सी र फङको जोडी देश विदेशका अनेकन् सार्वजनिक समारोहमा स्वच्छन्द ढंगले देखापरेबाट सर्वसाधारणको मनमा पारिवारिक आत्मीयताको भावना अझै गहन पारेको छ। पारिवारिक संरचनाको महत्त्वलाई थप उर्जाशील बनाएको छ। सी भन्छन्, ‘युग परिवर्तन भए पनि, कस्तै उतारचढाव आइरहेको भए पनि परिवार निर्माणको विषयलाई उच्च ध्यान दिनुपर्छ।’

आधुनिकता र सम्पन्नताका नाममा अचेल मानिसहरू पारिवारिक घेरा तोडेर विकृत ढंगले पारपाचुके र अतिरिक्त सम्बन्धमा फस्न थालेका बेला संस्कार र आत्मीयताको न्यानो घर बनाउने सीको सल्लाह ग्रहणीय छ। सी र फङबीचको सामान्य तर गहिरो प्रेमकहानीले चिनियाँ समाजमा एउटा उदाहरण प्रस्तुत गरेको छ। सी र फङबीचको प्रेम जुगजुगसम्म नमुना बनेर रहोस्, छिङ् रन च्ये ख्वाइल, चिनियाँ प्रेम दिवसको शुभकामना।