मंगलबार, पुस १, २०८२

दैनिक ६ घण्टा हिँड्नुपर्ने विद्यार्थीले होस्टेल पाएपछि...

यस वर्ष शान्ति माविबाट ४० जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैछन्। त्यसमध्ये ३७ जनाले हाल छात्रवासमा बसेर पढाइ गरिरहेका विद्यालयले जनाएको छ।
 |  आइतबार, माघ २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ २८, २०८०

ढोरपाटन (बागलुङ)- तमानखोला गाउँपालिका–६ नर्जाखानीका विद्यार्थीलाई दैनिक छ घण्टा हिँडेर विद्यालय पढ्न जानुपर्ने बाध्यता थियो। तमानखोला–६ नर्जाखानीका विद्यार्थीलाई गाउँपालिकाले विद्यालयमै आवासीय सुविधा दिएपछि पढ्नका लागि दैनिक छ घण्टा हिँड्नुपर्ने बाध्यता हटेको छ।

National life

भौगोलिक विकटताका कारण नर्जाखानी, पात्ले र भित्रीवन गाउँबाट दैनिक छ घण्टा हिँडेर वडा नं ५ खुङ्खानी स्थित शान्ति माध्यमिक विद्यालयमा पढ्दै आएका विद्यार्थीलाई आवासीय सुविधा दिइएको गाउँपालिका कार्यालयले जनाएको छ।

गत पुस १ गतेदेखि कक्षा १० मा पढ्ने विद्यार्थीका लागि गाउँपालिकाले विद्यालयमै ‘होस्टेल’ स्थापना गरेर एसइई दिँदासम्मका लागि आवासीय सुविधा दिन थालेको विद्यालयमा प्रधानाध्यापक सत्यनाराण सिंहले जानकारी दिए।

वडा नं ६ का दर्जनौं विद्यार्थी आधारभूत तहको पढाइ विष्णु आधारभूत विद्यालय नर्जाखानीमा सकेपछि शान्ति माध्यमिक विद्यालयमा पुग्नुपर्ने बाध्यता छ। नर्जाखानीबाट शान्ति मावि खुङ्खानी पुग्न तीन घन्टाभन्दा बढी लाग्दछ। वर्षौंदेखि घण्टौं हिँडेर माध्यमिक शिक्षा हासिल गर्दै आएका यस क्षेत्रका विद्यार्थीलाई एसइई तयारीका लागि करिब तीन महिना आवासीय सुविधा दिइएको प्रअ सिंहले जानकारी दिए।

“शान्ति माविमा छात्रावास सञ्चालनका लागि गाउँपालिकाले हरेक वर्ष एक लाख विनियोजन गर्ने गरेको छ। जसबाट विद्यार्थीको अतिरिक्त कक्षा सञ्चालन, छात्रावासको व्यवस्थापन गरिरहेका छौं”, उनले भने, “तीन महिना विद्यालयमा बसेर पढे भने उनीहरुको नजितामा सुधार आउने अपेक्षा गरेका छौं।”

Laxmi sunrise bank
kumari

नर्जाखानीबाट कक्षा ९ र १० मा अध्ययन गर्न खुङ्खानी आउनुपर्छ। नर्जाखानीबाट पढ्न आउने ललिता छन्त्यालले छात्रवासमा बसेर पढ्न थालेपछि धेरै सहज भएको बताइन्। कक्षा नौदेखि दैनिक छ घण्टा हिँड्नुपरेको भन्दै अहिले विद्यालयमा बसेर पढ्न पाउँदा एसइई परीक्षामा राम्रो अंक लिएर पास हुने अपेक्षा रहेको सुनाइन्।

“घरबाट आउजाउ गर्दा निकै समस्या थियो। दैनिक छ घण्टा हिँड्नुपर्थ्यो। हिँडाइको थकाइले गर्दा पढाइप्रति ध्यान नै जाँदैनथ्यो। अहिले घरबाट आउजाउ गर्नु परेको छैन, यही बसेर पढ्दा पढाइ पनि राम्रो भएको छ”, छन्त्यालले भनिन्, “सबैभन्दा बढी समस्या बर्खा र जाडोको समयमा हुने गरेको थियो।”

पात्लेगाउँका रुपक घर्ती मगर पनि अहिले विद्यालयकै छात्रवासमा बसेर अध्ययन गर्दैछन्। नर्जाखानीको विद्यालयबाट आठ कक्षा पास गरेर शान्ति माविमा आउनुभएका घर्तीले डेढ वर्ष निकै कष्टपूर्ण तरिकाले विद्यालय आउजाउ गरेको अनुभव सुनाए। जंगलको बाटो हिँड्दा वन्यजन्तको डर हुने गरेको भन्दै अहिले परीक्षा नजिक आइरहेको अवस्थामा यसरी विद्यालयमै बसेर पढ्न पाएकामा सहज भएको उनले बताए।

यस वर्ष शान्ति माविबाट ४० जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैछन्। त्यसमध्ये ३७ जनाले हाल छात्रवासमा बसेर पढाइ गरिरहेका विद्यालयले जनाएको छ।

टाढाका विद्यार्थीको सहजताका लागि गाउँपालिकाले केही समयका लागि भए पनि आवासीय सुविधा दिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए। आवासीय सुविधासहित अतिरिक्त कक्षा सञ्चालनका लागि शान्ति माविसहित वडा नं २ को जनजागृति माध्यमिक विद्यालय बोङ्गादोभान र धन गौ ज्योति मावि वडा नं ३ तमानलाई पनि बजेट विनयोजन गरिएको उनले जानकारी दिए।

अतिरिक्त कक्षा सञ्चालन भएबापत विद्यार्थीले तिर्नुपर्ने शुल्क गाउँपालिकाले व्यवस्थापन गरिदिएको अध्यक्ष बुढा मगरले बताए। भौतिक संरचनाको व्यवस्थापनसँगै शैक्षिक गुणस्तर बढाउन गाउँपालिकाले प्रयास गरिरहेको उनको भनाइ थियो। -रासस

 

प्रकाशित: Feb 11, 2024| 12:46 आइतबार, माघ २८, २०८०
प्रतिक्रिया दिनुहोस्