मंगलबार, भदौ ३१, २०८२

फाप्लुमै मोतिविन्दुको शल्यक्रिया

 |  शनिबार, माघ २०, २०८०
machha bankmachha bank

नेपाल समय

नेपाल समय

शनिबार, माघ २०, २०८०

vianetvianet

सोलुखुम्बु- हिमाली जिल्ला सोलुखुम्बुमा एक वर्षको अवधिमा एक सय ६५ जनाले जिल्लामै आँखाको मोतिविन्दुको शल्यक्रिया गराएका छन्। सन् २०२३ मा जिल्लाको विभिन्न स्थानमा उनीहरूले मोतिविन्दुको शल्यक्रिया गराएका हुन्।

Kumaribank

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु आँखा केन्द्र प्रमुख विधान ताम्राकारका अनुसार ८५ पुरुष र ८० महिलाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो। उनीहरूको फाप्लुमै शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको हो। ‘गाउँघरमा अझै पनि आँखामा मोतीबिन्दु पालेर बस्न बाध्य छन्, उनीहरुलाई लक्षित गर्दै वर्षभरि विभिन्न ठाउँमा छनोट शिविर सञ्चालन गरेका हौँ, त्यो शिविरबाट छानिएकाको शल्यक्रिया गर्न तिलगङ्गा आँखा प्रतिष्ठानसँगको समन्वयमा शल्यक्रिया शिविर सञ्चालन गरेका थियौँ’, उनले भने।

केन्द्रले जिल्लाका ३३ स्थानमा आँखा शिविर सञ्चालन गरेको थियो। आँखा केन्द्रले फाप्लुमा दुई पटक तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका विशेषज्ञसहितको उपस्थितिमा मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरेको प्रमुख ताम्राकारले जानकारी दिए। सोलुखुम्बुमै आँखाको मोतिविन्दुको शल्यक्रिया भएपछि बिरामी खुसी भएका छन्। शल्यक्रिया गर्न काठमाडौँ जानुपर्दा हजारौँ रुपैयाँ खर्च हुने तथा झन्झटसमेत हुने भएकाले गाउँदै उपचार भएपछि राहत मिलेको सल्लेरीकी वृद्धा दाटी शेर्पाले बताए।

उनले भने, ‘आँखाले राम्रोसँग नदेखेको धेरै भएको थियो, उपचार गर्न पनि काठमाडौँ कहिले पुग्नु, यतिकै बसेकी थिए। बुढेसकालमा अब त आँखा देख्दैन होला भनेको त, फेरि देख्ने भए।’

दुर्गम क्षेत्रका नागरिक धेरैजसो आँखामा मोतीबिन्दु पालेर बस्ने गरेको आँखा स्वास्थ्य कार्यकर्ता दिनेश राईले बताए। उनले भने, ‘चेतनाको कमी तथा जिल्लामा आँखाको शल्यक्रिया नहुने भएकाले पनि उनीहरू रोग पालेरै बस्ने गर्छन्। शिविर सञ्चालन भएपछि उनीहरुलाई राहत मिलेको छ।’

Metro Mart

पाँच हजारले लिए नेत्र सेवा

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले सन् २०२३ मा पाँच हजार दुई सय २१ जनालाई नेत्र सेवा प्रदान गरेको छ। सेवा पाउनेमा दुई हजार आठ सय छ महिला र दुई हजार चार सय १५ पुरुष रहेका आँखा केन्द्रको तथ्याङ्कमा उल्लेख छ।

सेवा लिनेमा चार हजार दुई सय ६१ जना नयाँ र पाँच सय ७९ जना पुराना बिरामी रहेको आँखा स्वास्थ्य कार्यकर्ता दिनेश राईले जानकारी दिए। उक्त समयमा दुई हजार तीन जनाले चस्मा समेत बनाएका छन्। चार हजार सात सय १४ जनालाई औषधि वितरण गरिएको उनले बताए।

प्रकाशित: Feb 03, 2024| 15:25 शनिबार, माघ २०, २०८०
प्रतिक्रिया दिनुहोस्