आइतबार, वैशाख १६, २०८१

५५ वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण गर्दै कर्णाली सरकार

 |  शनिबार, माघ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ १३, २०८०

कर्णाली- कर्णाली प्रदेश सरकारले उच्च रक्तचाप, मधुमेह र मिर्गौलाका बिरामीलाई लक्षित स्वास्थ्य परीक्षण अभियान अगाडि बढाएको छ। सरकारले ५५ वर्षमाथिका नागरिकमा उच्च रक्तचाप, मधुमेह र मिर्गौलाको समस्या देखिने भएकाले अभियान सञ्चालन गर्न थालिएको जनाएको छ।

triton college

स्वास्थ्य परीक्षणका लागि लगत सङ्कलन गर्न प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले यसअघि रुकुमपश्चिम र पश्चिम सुर्खेतको चौकुनेमा स्वास्थ्यकर्मीलाई अभिमुखीकरण दिइसकेको छ। साथै शुक्रबार वीरेन्द्रनगरका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण दिइएको निर्देशनालयले जनाएको छ।

रुकुमपश्चिममा स्वास्थ्य परीक्षण सुरु भइसकेको छ भने चौकुने–१ मा ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण सुरु भएको निर्देशनालयका निर्देशक डा रविन खड्काले जानकारी दिए। वीरेन्द्रनगर नगरपालिका–६ को मुख्य बजारमा यही माघ १७ गतेदेखि परीक्षण सुरु गरिने उनले बताए।

निर्देशक खड्काले नसर्ने रोगको समयमा नै पहिचान गरी निदान तथा रोकथामका उपाय अपनाउँदा त्यसबाट हुनसक्ने जटिलतालाई न्यूनीकरण गर्न सकिने भएकाले ५५ वर्षमाथिका नागरिकका लागि अभियान सञ्चालन गरिएको बताए। अभियानअन्तर्गत सेवाग्राहीलाई आवश्यक परामर्श उपलब्ध गराइने उनको भनाइ थियो।

‘समुदायस्तरमा नसर्ने रोग सम्बन्धी सचेतना अभिवृद्धि गरी जोखिम तथा राग लागिहाले हुनसक्ने जटिलता न्यूनीकरणमा यो अभियानले सहयोग गर्नेछ’, निर्देशक खड्काले भने, ‘यसबाट रोग लाग्ने तथा मृत्यु हुने दर कम हुने र व्यक्तिगत रुपमा स्वास्थ्य उपचारमा कम खर्च हुने अपेक्षा गरेका छौँ।’ अभियानमा ५५ वर्ष माथिका नागरिकको उच्च रक्तचाप, मधुमेह र मृर्गौला सम्बन्धी रोगको परीक्षण गरिने उनले बताए।

corrent noodles
Metro Mart

सामाजिक विकास मन्त्रालयका सचिव डा भोजराज शर्मा काफ्लेले सबैभन्दा दुर्गम चौकुने–१ सुर्खेतका ५५ वर्ष माथिका नागरिकको स्वास्थ्य परीक्षण गर्दा अपेक्षा गरेको भन्दा बढी रोगी देखिएको बताए। उनका अनुसार अब सुगम वीरेन्द्रनगर–६ मा अभियान सञ्चालन गर्ने कार्यक्रम छ।

‘चौकुनेमा शैक्षिक, आर्थिक र स्वास्थ्यका हिसाबले कमजोर नागरिकको बसोबास छ। उनीहरु आफ्नैले उब्जनी गरी खान्छन्’, काफ्लेले भने, ‘वीरेन्द्रनगरमा सम्पन्न ठाउँ भएपनि यहाँका अधिकांशले बजारबाट खाद्यान्न तथा तरकारी किनेर खाने गर्दछन्, उनीहरुको स्वास्थ्यमा के अन्तर छ भन्ने अध्ययन तथा खोज गर्नु यो अभियानको उद्देश्य हो।’

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा शक्तिप्रसाद सुवेदीले यो कार्यक्रमको सुरुवाती चरण भएकाले अहिले ५५ वर्षमाथिका नागरिकलाई मात्र अभियानमा समेटिएको बताए। उनका अनुसार उच्च रक्तचाप भएका बिरामीको मिर्गौला र मधुमेहको अवस्था पत्ता लगाउन प्रदेश सरकारले विशेष जोड दिएको छ। अभियानमा सहभागी बिरामीलाई नसर्ने रोग सम्बन्धी केही औषधि निःशुल्क उपलब्ध गराउने उनले जानकारी दिए।

निर्देशनालयका जनस्वास्थ्य निरीक्षक किरणकुमार शर्माले नेपालमा वयस्क जनसङ्ख्याको २५ प्रतिशतमा उच्च रक्तचाप हुँदा कर्णालीमा २१ प्रतिशत रहेको तथ्याङ्क प्रस्तुत गरे। ‘नेपालमा नसर्ने रोगमा ३० प्रतिशत मुटु सम्बन्धी, अन्य १३ प्रतिशत, घातक स्वासप्रश्वास सम्बन्धी १०, क्यान्सर नौ र मधुमेहबाट चार गरी ६६ प्रतिशत मानिसको मृत्यु भइरहेको छ। कर्णालीमा नसर्ने रोगबाट मृत्यु हुनेको दर ७०–८० प्रतिशत रहेको छ’, उनले भने।

विश्वमा नसर्नेरोगबाट ७१, निम्न तथा मध्यम आय भएका देशहरुमा ८६ र नेपालमा ७० प्रतिशत मानिसको मृत्यु भइरहेको निरीक्षक शर्माले जानकारी दिए। नसर्ने रोगसम्बन्धी जनचेतना जगाउँदै यसको समयमा नै उपचार तथा रोकथामका लागि सबै सरोकारवाला निकाय सँगसगै भएर काम गर्नुपर्ने उनको भनाइ थियो।

अस्वस्थकर जीवनशैली, कसरतको अभाव, जोखिमपूर्ण कामलगायत कारणले नसर्ने रोगसम्बन्धी समस्या भएकाको सङ्ख्या दिनप्रतिदिन बढिरहेको शर्माले बताए। नियमित व्यायम, स्वस्थ र ताजा खाना, तनाबरहित जीवनशैलिलगायत कुरामा परिवर्तन गर्न सके नसर्ने रोगको जोखिमबाट बच्न सकिने उनको सुझाव थियो।

प्रकाशित: Jan 27, 2024| 20:30 शनिबार, माघ १३, २०८०
प्रतिक्रिया दिनुहोस्