एजेन्सी- स्पेनको दोस्रो ठुलो प्रतियोगिता कोपा डेल रे फुटबलमा रियल मड्रिड अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राति सम्पन्न अन्तिम ३२ को दोस्रो लेगको खेलमा मेलिल्लामाथि फराकिलो जित निकाल्दै रियलले अन्तिम १६ मा पुगेको हो ।
घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा रियलले पाहुना टोली मेलिल्ललाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको हो । रियलका जितका लागि मार्को एसेन्सियो र इस्कोले समान २-२ गोल गरे । त्यस्तै जाभिएर सान्चेज डे फेलिपेल र भिनिसियस जुनियरले एक एक गोल गरे ।
रियलले पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा थप तीन गोल गरेको थियो । ३३औं मिनेटमा रियलले एसेन्सियोको गोलमा अग्रता लिएको थियो । त्यसको दुई मिनेट नबित्दै पुनः व्यक्तीगत दोस्रो गो गर्दै एसेन्सियोले रियलको अग्रता दोब्बर पारे ।
त्यस्तै खेलको ३९औं मिनेटमा जाभिएर सान्चेज डे फेलिपेले गोल गर्दै रियललाई पहिलो हाफमा ३-० ले अग्रता दिलाएका थिए । लामो समयपछि टोलीको प्लेइङ लिस्टमा परेर मैदान उत्रिएका इस्कोले दोस्रो हाफ सुरु भएको केहि मिनेटमै गोल गरे ।
उनले खेलको ४७औं र ८३औं मिनेटमा गरी २ गोल गरे । त्यसछि खेलको ७५औं मिनेटमा भिनिसियस जुनियरले गोल गरे । यता, पराजित मेलिल्लाका लागि खेलको ८१औं मिनेटमा पेनाल्टीबाट याकिन क्विस्मीले १ गोल गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४