आइतबार, जेठ ६, २०८१

कैलालीका किसानलाई चिसोबाट पशु जोगाउन समस्या

 |  सोमबार, माघ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ ८, २०८०

कैलाली- गत पुसदेखि कैलालीसहित तराईका जिल्लामा चिसो अत्यधिक बढेसँगै जनजीवन प्रभावित भएको छ। चिसोले मानिस मात्र नभई घर पालुवा जनावरलाई समेत समस्या भएको छ।  चिसोका कारण पशु तथा जनावरमा ज्वरो आउने, काँप्ने र कतिपय अवस्थामा गाईवस्तुको मृत्युसमेत हुने गरेको किसानको गुनासो छ। “एकातिर घाम लागेको छैन, अर्कोतर्फ शीतलहरले पशुलाई जोगाउन कठिन भएको छ”, किसान पर्शु धामीको भनाइ छ, “एक महिनादेखि भैँसीलाई गोठबाट बाहिर निकाल्न पाइएको छैन। भैँसीले चार लिटर दूध दिन्थ्यो, घटेर दुई लिटर भएको छ।”

triton college

घाम नलाग्नुका साथै शीतलहरका कारण पशुलाई चरनको समेत समस्या भएको छ। पशुलाई गोठ बाहिर बाध्न, चराउन लैजान पनि कठिन भएको किसानको गुनासो छ। जानकी गाउँपालिकाका किसान रमेश विकका दुई बाख्रा चिसोले मरेका छन्। “बाख्रालाई चिसो लागेपछि जोगाउन सकिएन, चिसोले तीन दिनसम्म आगो बालेर आगोको छेउमा बाधेर राख्यौँ, औषधि पनि खुवायौँ”, उनले भने, “तर पनि बचाउन सकिएन। जाडो सिजनमा बाख्रालाई आहाराको समेत समस्या हुने गर्छ।”

उनका अन्य बाख्रा पनि घाँस तथा पानी राम्ररी नखाएर दुब्लाएका छन्। चिसो बढ्दै गएपछि पशुलाई आहारा व्यवस्थापन र न्यायो पार्न कठिनाइ भएको केमन व्यावसायिक गाई फार्मका सञ्चालक किसान चक्र बटालाले बताए। 

किसान बटालाका अनुसार चिसोमा कामदारलाई पनि गाह्रो हुने, पशुमा स्वास्थ्य समस्या देखिने, मर्नेलगायतका समस्या हुने गरेका छन्। “चिसोले एउटा बाख्रा बिरामी भएर मर्‍यो”, उनले भने, “घाम नलागेका कारण गोठ सरसफाइमा समेत समस्या भइरहेको छ।” मोहन्याल भैँसी फार्मका सञ्चालक दुर्गाप्रसाद जैसीले पनि चिसोले गर्दा दूध उत्पादनमा कमी भएको र पशुलाई आहारा उत्पादनमा समेत समस्या भइरहेको बताए। 
टीकापुर गौशालामा समेत चिसोले पशु जोगाउन समस्या भएको छ। सयौँ पशुचौपाया रहेको गौशालामा गोठ अभावमा समेत समस्या भएको छ। चिसोबाट पशु जोगाउन ठाउँठाउँमा आगो ताप्ने व्यवस्था मिलाएको र टहरा निर्माण कार्य सुरु गरेको सामुदायिक पशु चौपाया तथा प्रवद्र्धन समितिका अध्यक्ष लोकबहादुर बुढा क्षेत्रीले बताए। 

प्रकाशित: Jan 22, 2024| 10:42 सोमबार, माघ ८, २०८०
प्रतिक्रिया दिनुहोस्