बुधबार, भदौ १७, २०८३

अयोध्यामा यसरी हुँदैछ भगवान रामको प्राण प्रतिष्ठा

 |  सोमबार, माघ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ ८, २०८०

भारतको अयोध्यामा भगवान रामको आज (सोमबार) अभिषेक समारोह हुँदैछ। समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत धेरै भिभिआईपी सहभागी हुनेछन्। 

सो मन्दिरमा भगवान रामको नयाँ मूर्ति तयार गरी गर्भगृहमा स्थापना गरिएको छ। भगवान रामको ५१ इन्चको नयाँ मूर्तिलाई आज अभिषेक गरिनेछ।

राम जन्मभूमि तीर्थ क्षेत्र कोषका कोषाध्यक्ष गोविन्ददेव गिरीले अस्थायी मन्दिरमा राखिएको रामललाको पुरानो मूर्तिलाई नयाँ मूर्तिको अगाडि राखिने जानकारी दिएका छन्। 

गत हप्ता राम मन्दिरको गर्भगृहमा रामललाको मूर्ति राखिएको थियो। रामका तीन वटा मुर्ति तयार पारियो, जसमध्ये मैसूरका मूर्तिकार अरुण योगिराजले बनाएको मूर्तिलाई अभिषेकका लागि छनोट गरिएको थियो।

प्राण प्रतिष्ठाका लागि भारतका विभिन्न सहरका साथै नेपालबाट पनि थुप्रै भक्तजन अयोध्या पुगेका छन्।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले नेपालका दुई दर्जनभन्दा बढी केही धर्मगुरू, सन्त–महन्थलाई प्राण प्रतिष्ठामा सहभागी हुन निम्तो दिएको छ। 

ट्रस्टले भारतभित्रका ठूलो संख्यामा धर्मगुरू, सन्त–महन्थलाई प्राण प्रतिष्ठामा निमन्त्रणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  निमन्त्रणा पाएका केहीले कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन्। केहीलाई भने जानी बुझिकन निमन्त्रणा गर्न छुटाएको छ, जसले भारतका हिन्दुहरुबीच विभाजनको रेखा कोरेको छ। 

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले जुन गतिमा भारतमा हिन्दुत्वलाई अघि बढाएको थियो त्यसमा राम मन्दिरको प्राण प्रतिष्ठा समारोहले ‘ब्रेक’ लगाएको समाचार भारतीय सञ्चारमाध्यममा प्रकाशित भएका छन्।

प्राण प्रतिष्ठामा गरिएको निमन्त्रणाले भारतमा भाजपा निकट हिन्दु र अन्य पार्टी निकट हिन्दु भनि कित्ताकाट गर्न सुरू भएको छ। राम मन्दिरको गर्भ गृहको निर्माण कार्य चलिरहेको छ। केही काम पूरा हुन बाँकी नै छ। अहिले चौबीसै घण्टा गर्भ गृहको निर्माण कार्य चलिरहेको छ। यसैकारण भारत भित्र केहीले विरोध पनि गरिरहेका छन्।

उनीहरुले प्रश्न पनि गरिरहेका छन्– निर्माण कार्य सम्पन्न नहुँदै प्राण प्रतिष्ठा गर्न किन हतार? 

प्राण प्रतिष्ठा कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित हुनेछन्। उक्त कार्यक्रममा देश–विदेशबाट थुप्रै अति विशिष्ठ पाहुनालाई निमन्त्रणा गरिएको छ। नयाँ राम मन्दिरको लागि पुजारी चयन गर्ने कार्य पनि जारी छ। पहिलो चरणमा आएका ३०० जनाको नामबाट २१ जना पुजारीलाई ‘सर्ट लिस्ट’ गरिएको थियो।  उनीहरूलाई तालिम दिने काम अहिले भइरहेको छ। 

यिनैमध्ये एक जना अयोध्यास्थित राम मन्दिरको मुख्य पुजारी हुनेछन्। श्रीराम जन्मभूमि ट्रस्टका महासचिव चम्पत राय भन्छन्, 'तालिम सकिएपछि सनातन धर्म, वेद र शास्त्रमा उनीहरुको ज्ञानको परीक्षा लिने काम हुन्छ। केहीलाई यहीँ जागिर दिइनेछ भने अन्यलाई देशका फरक फरक मन्दिरमा पठाइनेछ।' 

राम मन्दिर कमिटीले वाराणासीका दुई जना पुजारीको नाम यसअघि नै घोषणा गरेको छ जसले प्राण प्रतिष्ठामा अगुवाई गर्नेछन्। 'अयोध्याका कर्मकाण्डी ब्राह्मण पनि लक्ष्मीकान्त दीक्षित र गणेश्वर शास्त्री द्रविडको नाम सुनेर भन्नेछन् उनीहरु त हाम्रो पनि गुरू हुन्। काशी सधैँ विद्धानहरुको नगरी रहेको छ, जबकि अयोध्या लामो समयदेखि उपेक्षित बनेको छ,' चम्पत रायले भने। 

काशीका विद्धान गणेश्वर शास्त्री द्रविड र लम्कीकान्त दीक्षितले प्राण प्रतिष्ठा गराउने उनले जनाए। राम मन्दिर कमिटीको यस फैसलाको अयोध्याका केही स्थानीय महन्थ तथा पुजारीले आपत्ति जनाएका छन्। प्राण प्रतिष्ठा गराउने पुजारी हजारौं मन्दिरको सहर अयोध्याबाट छनोट नगरिएकोमा उनीहरुको असन्तुष्टि छ। 

अयोध्याको हनुमान गढीका प्रमुख महन्थ, महन्थ धरमदासका गुरु बाबा अभिराम दासले सन् १९४९ मा रामललाको मूर्ति विवादित ढाँचामा राखेका थिए। 'पूजा गर्न कोही पुजारी आउँदै छन् भने कसरी गराउँछन् त्यो हामी हेर्ने नै छौं। अब यहाँका पुजारीलाई पनि सहभागी गराउनुपर्छ। प्रतिष्ठा सबैले गर्नुपर्छ,' महन्थ धरमदासले भनेका छन्। 

पहिले नै प्रतिष्ठित मूर्ति राखिने हुँदा धेरै काम गर्नु नपर्ने बुझाई उनको छ।  मूर्तिका विषयमा भारतको सर्वोच्च अदालतले समेत आदेश दिइसकेको छ। सहमति तथा असहमति जे भए पनि प्राण प्रतिष्ठा हुनुपर्ने भनाई उनको छ। 

जबदेखि राम मन्दिर निर्माणको काम सुरु भएको छ र अस्थायी स्थानमा रामको मूर्ति राखिएको छ, त्यसबेलादेखि त्यहाँ दर्शन गर्नेहरूको घुइँचो लाग्ने गरेको छ। भारतको सर्वोच्च अदालतको फैसलापछि सन् २०२० मा राम मन्दिर निर्माण कार्य प्रारम्भ गरिएको थियो। 

मन्दिर परिसरले ६७ एकड जमिन ओगटेको छ। त्योमध्ये दुई एकड जमिन मन्दिर निर्माणको लागि छुट्टयाइएको थियो। हजारौं करोड भारतीय रुपैयाँमा निर्माण भइरहेको नयाँ राम मन्दिरको गर्भ गृहको निर्माण अहिले अन्तिम चरणमा पुगेको छ। 

मन्दिर निर्माणको खर्च औपचारिक रुपमा घोषणा नगरिए पनि हालसम्म १८ सय करोड भारतीय रुपैयाँ खर्च भएको अनुमान छ।  प्राण प्रतिष्ठा गर्ने मिति घोषणा भएपछि लाखौं श्रद्धालु अयोध्या आइरहेका छन्। उनीहरुले नगद मात्र होइन सुन–चाँदी पनि चढाइरहेका छन्। 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले केही दिनअघि केन्द्र सरकार र राज्य सरकार मिलेर ३ खर्ब भारतीय रुपैयाँभन्दा बढी रकम अयोध्याको विकास आयोजनामा लगानी भएको घोषणा गरेका थिए।  जसका कारण सहरमा ठूलाठूला होटल, राजमार्ग देखिएका छन् तर प्राचीन अयोध्यामा वर्षौंदेखि रहँदै आएकाहरुको आशा भने केही भिन्न छ। 

प्रकाशित: Jan 22, 2024| 08:09 सोमबार, माघ ८, २०८०
प्रतिक्रिया दिनुहोस्