काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि एक वर्ष पूरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् पुनर्गठन गरेर कामलाई तीव्रता दिने बताएका थिए। तर, एक महिना बितिसक्दा पनि पुनर्गठनको कुनै तयारी नभएपछि सरकारले पुरानै ढर्रामा काम गर्न खोजेको प्रतिपक्षको आरोप छ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुख्याचाको संज्ञा दिँदै अहिले देश बर्बाद हुँदै गएकोले मिसन ०८४ कुर्न नसक्ने अवस्था आएको बताएका हुन्। उनले भने, 'अहिलेको सत्ता गठबन्धनका नेताहरु भ्रष्टाचारी कमिसनतन्त्रीय वंश, निकम्मा गोत्र र देशद्रोही जातका मानिसहरुको वरीपरी घुमिरहेका छन्। अब यो बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भएपनि सरकार सञ्चालन गर्नेछौं।'
यसअघि कांग्रेस तथा प्रतिपक्ष दल नेकपा एमालेलगायतले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेपछि दबाबमा रहेका प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् पनुर्गठनका लागि तयार भएका थिए। त्यसपछि प्रधानमन्त्री प्रचण्डलेले एक वर्ष पुगेको अवसरमा ‘राष्ट्रका नाममा’ गरेको सम्बोधनमा पनि मन्त्रीहरुलाई पद छाड्नका लागि तयार रहन सन्देश दिएका थिए। 'आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरुलाई भन्न चाहन्छु, हामीलाई असफल हुने छुट छैन,' प्रधानमन्त्री प्रचण्डले भनेका थिए, 'कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन।'
प्रधानमन्त्रीको भनाई पछि स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले पनि पदबाट हट्नुपर्ने विषय सार्वजनिक कार्यक्रममै खोलेका थिए। गत साता कान्ति अस्पतालको कार्यक्रममा मन्त्री बस्नेतले कति दिन पदमा रहिन्छ भनेर नै मुख खोलेका हुन्। 'मन्त्री पदमा कति दिन रहिन्छ थाहा छैन । किन भने मन्त्री पद त यति समयका लागि भनेर तोकिने पनि होइन,' मन्त्री बस्नेतको भनाई उद्धृत गर्दै उनी निकटले भने, 'त्यसकारण जति दिन रहिन्छ त्यतिदिन राम्रोसँग काम गर्ने हो । तपाईंहरुले पनि यसमा सहयोग गरिदिनुभयो भने त्यसले तपाईं हामी र देशलाई राम्रो हुनेछ।'
मन्त्री बस्नेतले यस्तो भने पनि कांग्रेस भने अहिले नै मन्त्रीहरु फिर्ता बोलाउन तयार नभएको बताइएको थियो। सभापति देउवाले पार्टीको परिस्थिति ‘अनुकूल नबनाई’ प्रधानमन्त्रीका लागि अनुकूल नबनाउने संकेत गरिसकेका छन्। देउवाको अडानले प्रधानमन्त्रीको प्रयास तत्कालका लागि स्थगित भएको कांग्रेसका मन्त्रीहरुले नै बताउने गरेका थिए। उनले मन्त्रिपरिषद् पुनर्गठनको विषय धेरै अघिदेखि उठ्दै आए पनि नेपाली कांग्रेसले भने महासमिति बैठक पछि भन्दै यसबारे छलफल हुने बताउँदै आएको छ।
माओवादी केन्द्रका प्रधानमन्त्री निकट नेताहरु भने कांग्रेस सभापति शेरबहादुर देउवा गृहमन्त्री फेर्ने पक्षमा रहेकोले अब राष्ट्रिय सभा निर्वाचन लगत्तै मन्त्रिपरिषद् पुनर्गठन हुने बताउँछन्। प्रधानमन्त्री दाहालका तर्फबाट माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसहितका नेता परिचालन गरेर कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी गरिरहेका छन्।
पुनलाई नेगोसिएसनमा काम गर्दै आएकोमा राष्ट्रियसभा निर्वाचन परिचालन समितिमा पनि प्रचण्डले सिफारिस गरेका छन्। त्यहाँ कांग्रेस नेता रमेश लेखकमार्फत् पुनले देउवासमक्ष थप कुरा पुर्याउने र थप वातावरण निर्माण हुने माओवादी पक्षको धारणा रहेको छ। प्रधानमन्त्री प्रचण्ड निकट स्रोतका अनुसार राष्ट्रियसभा निर्वाचनपछि मात्रै मन्त्रीपरिषद् पुनर्गठन हुने भएको छ। राष्ट्रियसभा निर्वाचन माग ११ गते हुँदै छ।
तत्काल मन्त्रीपरिषद् हेरफेरको छलफल चलाउँदा राष्ट्रियसभा निर्वाचनमा प्रभाव पर्न सक्ने भन्दै प्रधानमन्त्री प्रचण्डले यो विषयमा छलफल नै चलाएको उनी निकट स्रोतले बताएको छ। नेकपा माओवादीका एक नेताका अनुसार अहिले मन्त्रीपरिषद् पुनर्गठनबारे कुनै छलफल भएको छैन। उनले भने, ‘सायद माघको अन्तिम सम्ममा होला की।’
प्रधानमन्त्रीको सचिवालयका अनुसार माग अन्तिम साता तिर पुनर्गठन हुने सक्ने बताइएको छ। अहिले प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्ड असंलग्न आन्दोलनका राष्ट्र र सरकार प्रमुखको १९ औं शिखर सम्मेलनमा भाग लिन युगान्डामा छन्।