शुक्रबार, साउन २, २०८२

माघे संक्रान्तिदेखि मेलम्चीको पानी धारामा

 |  आइतबार, पुस २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस २९, २०८०

vianetvianet

काठमाडौं- मेलम्चीको पानी काठमाडौं उपत्यकावासीले माघ १ गतेदेखि पुनः पाउने भएका छन्। वर्षाले क्षति पुगेको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी माघ १ गतेदेखि पुनः उपत्यकावासीका धारामा पानी पुर्याउन थालिएको हो।

मेलम्चीको पानी पुनर्वितरणको प्रधानमन्त्री प्रचण्डले शुभारम्भ गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले पानी पुनर्वितरणको शुभारम्भ गरेपछि घरघरका धारामा मेलम्ची पानी पुग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

पहिलो दिन अनामनगर र मीनभवन केन्द्रबाट पानी वितरण सुरु हुने छ। त्यसपछि क्रमशः खुमलटार, महाँकाल चौर, कीर्तिपुर, बोडे, कटुन्जे, बालाजु, बाँसबारी केन्द्रबाट पनि पानी वितरण सुरु गरिने आयोजनाले जनाएको छ।

बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको थियो। आयोजना निर्माण सुरु भएको २२ वर्षपछि अर्थात् २०७७ साल फागुन २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रोमेकानिकल गेटको बटन थिचेर मेलम्चीको सुन्दरीजलमा मेलम्चीको पानी प्रवाहको उदघाटन गरेका थिए।

त्यसको एक महिनापछि चैत २० गते पहिलोपटक मेलम्चीको पानी काठमाडौंमा झारिएको थियो। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर मेलम्चीको पानी वितरण शुभारम्भ गरेकी थिइन्। तर पानी वितरण अघि गर्नुपर्ने थुप्रै काम बाँकी भएकाले धारामा पानी आउन केही दिनमै बन्द भएको थियो।

सोही वर्षको जेठ मसान्तमा आएको ठूलो बाढी र पहिरोले मेलम्चीको मुहान क्षेत्र र हेडवर्क्स लगायतका क्षेत्रमा क्षति पुर्याएपछि पानी वितरण पूर्णरुपमा बन्द भएको थियो। त्यसको मर्मत गरी २०७९ मंसिर २३ गते तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले पुनः महाँकाल केन्द्रबाट मेलम्चीको पानी वितरण शुभारम्भ गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले माघ १ गते चौथो पटक मेलम्चीको पानी वितरणको शुभारम्भ गर्नेछन्। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)बाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकाका घर-घरमा पुनः वितरण हुने छ।
 

प्रकाशित: Jan 14, 2024| 07:51 आइतबार, पुस २९, २०८०
प्रतिक्रिया दिनुहोस्