दाङको भालुवाङमा भएको बस दुर्घटनामा मृत्यु भएका १२ जनामध्ये ९ जनाको पहिचान खुलेको छ। पहिचान हुनेमा बाँके नेपालगन्जकी ६० वर्षीया कुसुम बस्नेत, मकवानपुर हेटौडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रगिरीका ६५ वर्षीय ताराकान्त पाण्डे र भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने नामका व्यक्ति छन्।
त्यस्तै श्रीढुस्का-९ जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन, रूकुम पश्चिम गोतामकोटका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय योगेन्द्रराम जोगेन्द्र र खजुरा गाउँपालिका-३ बाँकेका २५ बर्षिय सञ्जय केसीको पनि सनाखत भएको छ। अब तीन पुरूषको सनाखत हुन बाँकी छ।
बस चालक त्रिवेणी नगरपालिका-४ सल्यानका २८ वर्षीय लालबहादुर नेपालीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। नेपालगन्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राती राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्तीपुलबाट नदीमा खसेको थियो। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा २३ जना घाइते भएका छन्। घाइतेमध्ये १४ जनाको मेडिकल कलेज कोहलपुर, सात जनाको बुटवल र दुई जनाको भालुबाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।