काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (बुधबार) तीन खेल हुदैछन् । पहिलो खेलमा मनाङ मर्स्याङ्दीले जावलाखेल युथ क्लबकोसँग प्रतिस्पर्धा गर्दै छ भने दोस्रो खेलमा हिमालयन शेर्पाविरुद्ध च्यासल युथ तथा थ्रीस्टारविरुद्ध सरस्वती युथ क्लबको सामना गर्दै छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुई खेल हुने छन् भने बाँकी एक खेल हलचोकस्थित एपिएफको खेल मैदानमा हुनेछ । बिहान ११ बजे हुने मनाङ र जावलाखेलबीचको खेल तथा २:३० बजे हिमालयन र च्यासल युथबीचको खेल एन्फामा हुने छ । त्यस्तै २:३० मा नै हुने अर्को थ्रीस्टार र सरस्वतीबीचको खेल एफिएmको मैदानमा हुने छ ।
प्रतियोगितामा शतप्रतिशत जित आत्मसाथ गरेको मनाङ सोही नतिजालाई कायम राख्ने लक्ष्यका साथ जावलाखेलसँग मैदानमा उत्रिने छ । शीर्ष स्थानको मनाङको ५ खेलबाट १५ अंक छ ।
त्यस्तै अर्को खेलमा स्टार खेलाडी अनुबन्धन गरेर अपेक्षा अनुसारको प्रर्दशन गर्न नसकेको च्यासलले उपाधि होडबाट बाहिर भएको घोषणा गरिसकेको छ । सन्तुलित टिम सहित प्रतियोगिता खेल्न निस्किएको हिमालय शेर्पाले राम्रै नतिजा निकालिरहेको छ । शेर्पा १० अंक सहित छैटौ स्थानमा रहदाँ च्यासल ४ अंक सहित नवौ स्थानमा छ ।
आजै हुने तेस्रो खेलमा रुस्लान थ्री स्टार क्लबले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । लिगको उपाधि दाबेदार क्लब थ्रीस्टारको लक्ष्य सरस्वतीलाई पराजित गर्दै शीर्ष स्थानको मनाङ माथि दबाब सिर्जना गर्नुहुनेछ ।
बिदेशी खेलाडीको प्रभावमा लिगमा अप्रत्यासित नतिजा निकाल्न माहिर सरस्वती थ्री स्टारलाई हराउँदै उपाधि होडको समिकरण प्रभावित पार्न चाहन्छ । थ्री स्टार १२ अंक सहित तालिकाको चौथो स्थानमा छ । सरस्वती ६ अंक सहित आठौ स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४