बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणबाट नेपालले के पायो?

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणबाट नेपालले के पायो?

'छिमेकी पहिलो' नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो। दुई घनिष्ठ र मित्रवत् छिमेकीबीच उच्चस्तरीय आदानप्रदानको परम्परालाई ध्यानमा राख्दै यो भ्रमण भएको भारतीय पक्षले जनाएको छ।
 |  शुक्रबार, पुस २०, २०८०

भीष्मराज ओझा

भीष्मराज ओझा

शुक्रबार, पुस २०, २०८०

काठमाडौं- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा दुई दिने नेपालको औपचारिक भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा महत्वपूर्ण विभिन्न द्विपक्षीय सहमतिपत्र/समझदारीपत्रको आदानप्रदान भएको छ।  

triton college

नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी बिहीबार नेपाल आएका थिए। बैठकमा विकास साझेदारीसहित द्विपक्षीय सहकार्यका सबै पक्षमाथि समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। संयुक्त आयोगको बैठकपश्चात् भारतीय विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीको उपस्थितिमा दुई पक्षबीच विभिन्न सहमतिपत्र/समझदारीपत्रको आदानप्रदान भएको थियो।

बैठकमा सन् २०२१ को जनवरीमा सम्पन्न भारत-नेपाल संयुक्त आयोगका छैटौँ बैठकपछि द्विपक्षीय सहकार्यका सबै क्षेत्रमा हासिल उपलब्धिहरूको प्रशंसा गरिएको थियो।

बैठकमा नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनका लागि भारत र नेपालबीच नयाँ सहमति कायम भएको छ। नयाँ सम्झौतामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनका लागि बजेटको सीमा रु पाँच करोडबाट बढाएर रु २० करोड पुर्याइएको छ। 

त्यस्तै दीर्घकालीन ऊर्जा व्यापारका लागि भारत सरकार र नेपाल सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। यस सम्झौताअन्तर्गत आगामी दश वर्षमा नेपालबाट भारततर्फ हुने विद्युत् निर्यातको परिमाण १० हजार मेगावाटसम्म पुर्याइने छ। यसका लागि नेपालको जलविद्युत् उत्पादन क्षेत्र र प्रसारण पूर्वाधारमा पारस्परिक लाभदायी लगानीलाई प्रोत्साहन गर्न सबै उपायहरू अपनाउनेमा दुवै पक्ष सहमत भएका छन्।

corrent noodles
Metro Mart

यसैगरी, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा निर्मित मुनाल स्याटेलाइटका लागि न्यूस्पेस इन्डिया लिमिटेड र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबीच प्रक्षेपण सेवा सम्झौता भएको छ। नेपाली विद्यार्थीले बनाएको यो स्याटेलाइट बिना शुल्क भारतीय प्रक्षेपण रकेटबाट प्रक्षेपण गरिने छ।

भारतको एनटिपिसी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच नवीकरणीय ऊर्जा विकासमा सहकार्यका लागि एक समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ। यस समझदारीपत्रले एनटिपिसी लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच नवीकरणीय ऊर्जामा सहकार्यका लागि खाका तयार पार्नेछ।

सोही अवसरमा दुवै विदेशमन्त्रीले रक्सौल-परवानीपुर प्रसारण लाइनको दोस्रो सर्किट, कटैया-कुशाहा लाइनको दोस्रो सर्किट र नयाँ नौतनवा-मैनहिया लाइन गरी भारत र नेपालबीच रहेको तीनवटा एक सय ३२ केभी अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रूपमा उद्घाटन गरेका थिए।

त्यस्तै, दुवै मन्त्रीको उपस्थितिमा जाजरकोटका भूकम्पपीडितका लागि भारत सरकारले उपलब्ध गराएको पाँचौँ चरणको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। उक्त राहत सामग्रीमा भूकम्पबाट प्रभावित मानिसका लागि दुई सय प्रिफ्याब घरहरू, एक हजार दुई सय ब्ल्याङ्केट, एक सय ५० वटा त्रिपाल र दुई हजार स्लिपिङ ब्याग छन्। दुई सयवटा प्रिफ्याब घरमध्ये २० वटा घर कार्यक्रममा हस्तान्तरण गरिएको थियो भने बाँकी घर आउँदो केही साताभित्र विभिन्न चरणमा हस्तान्तरण गरिने छन्।

साथै, जाजरकोटमा हालै गएको भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न भारत सरकारले करिब रु १० अर्ब आर्थिक सहयोग उपलब्ध गराउने भारतीय विदेशमन्त्रीले घोषणा गरेका थिए। त्यसमध्ये ठूलो हिस्सा अनुदान सहायताअन्तर्गत रहनेछ।

भ्रमणका क्रममा भारतीय विदेशमन्त्री डा जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछट्टै शिष्टाचार भेटवार्ता गरेका थिए। साथै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग पनि छुट्टाछट्टै भेटवार्ता गरेका थिए। विदेशमन्त्री डा जयशंकर र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतबीच पनि भेटवार्ता भएको थियो।  

सबै भेटघाटमा पारस्परिक हितका द्विपक्षीय विषयमा कुराकानी भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ। परराष्ट्रमन्त्री साउदले विदेशमन्त्री डा जयशंकरको सम्मानमा बिहीबार रात्रिभोजको पनि आयोजना गरेका थिए।

भ्रमणको दोस्रो दिन दुवै विदेशमन्त्रीले भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको नयाँ भवनसहित शिक्षा, स्वास्थ्य र सांस्कृतिक क्षेत्रमा भूकम्पपछिका ५९ वटा पुनःनिर्माण परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका थिए।

भ्रमणका क्रममा विदेशमन्त्री डा. एस जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजा गर्नुका साथै पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोपेका थिए। ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो। दुई घनिष्ठ र मित्रवत् छिमेकीबीच उच्चस्तरीय आदानप्रदानको परम्परालाई ध्यानमा राख्दै यो भ्रमण भएको भारतीय पक्षले जनाएको छ।    -रासस

प्रकाशित: Jan 05, 2024| 18:05 शुक्रबार, पुस २०, २०८०
प्रतिक्रिया दिनुहोस्