शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

पर्यटक आउन थालेपछि मानुङकोट फर्किँदै स्थानीय

 |  शुक्रबार, पुस २०, २०८०
nespernesper

मिला दरै

मिला दरै

शुक्रबार, पुस २०, २०८०

डुम्रे- तनहुँका अधिकांश पर्यटकीयस्थलको प्रवर्द्धन हुन सकेको छैन। केही पर्यटकीयस्थलको भने प्रवर्द्धन हुने क्रममा छ। बन्दीपुर बढी प्रवर्द्धन भएको पर्यटकीयस्थल हो। पछिल्लो समय व्यास नगरपालिका–५ मानुङकोट अत्यधिक चर्चामा छ। यहाँबाट देखिने कुहिरो, हिमशृङ्खला र सूर्योदयले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। हिउँद सुरु भएसँगै कुहिरोले सदरमुकाम दमौली बजारलाई छोप्छ। 

triton college

घाम उदाउन लागेसँगै कुहिरो बिस्तारै फाट्ने गर्दछ र दमौली बजार छर्लङ्ग देखिन्छ। यससँगै उहाँबाट हिमशृङ्खला पनि सुन्दर देखिने गर्दछन्। यही हिमशृङ्खला र डाँडाबाट देखिने चारैतिरको सुन्दरता हेर्न पर्यटक लालयीत हुने गर्दछन्। यी कुहिरो, हिमशृङ्खला र सूर्योदय मनोरम दृश्यले पर्यटक आकर्षित हुने गरेका छन्। मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ। यहाँको लोभलाग्दो दृश्यले पर्यटकलाई आनन्दित तुल्याउने गरेको छ। 

विगतमा पानीको अभावले यस वरपरका बासिन्दा अन्यत्र बसाइँसराइ गर्न पुगेका थिए। पछिल्लो समय पर्यटकीय चहलपहल बढेसँगै उनीहरु आफ्नो पुर्ख्यौली गाउँ फर्किन थालेका छन्। पर्यटककै कारण यहाँका स्थानीय गाउँ फर्किंन थालेका हुन्। तर पानीको समस्या भने यहाँ विगतको जस्तै कायमै छ। पर्यटकीय क्षेत्रका रुपमा मनुङकोटको विकास हुँदै गएपछि यहाँका स्थानीयवासी होटल व्यवसायमा संलग्न हुन थालेका हुन्। 

मानुङकोट पर्यटकीयस्थल बनेपछि यहाँ बस्ती बढ्ने क्रममा छ। पानीको अभावले रित्तिएको बस्ती अहिले पर्यटकीयस्थलका रुपमा विकास भएसँगै स्थानीय फर्किंन थालेका हुन्। विगतमा घण्टौँ लगाएर पानी ल्याउनुपर्ने बाध्यता भएपछि यहाँका स्थानीय बसाइँसरी मानुङकोटको फेदीतर्फ झरेका थिए। पानी सहजै पाउने स्थानतर्फ झरेका स्थानीय यहाँ पर्यटक आगमन बढ्न थालेपछि फर्किन थालेका हुन्। पाँच वर्षयता मानुङकोट पर्यटकीयस्थलका रुपमा विकसित हुँदै गएको छ। यहाँ पर्यटकको आवतजावत हुन थालेपछि गाउँले फर्किंन थालेका स्थानीय ६७ वर्षीय पद्मबहादुर थापामगरले बताए। उनले भने, ‘खानेपानीको अभावले यहाँबाट धेरैले बसाइँ सरेका थिए। अहिले बिस्तारै फर्किन थालेका छन्। तर, पानीको समस्या भने उस्तै छ।’

पहिले स्थानीयले खेतीपाती गरे पनि अहिले व्यवसाय फेरिएको थापामगरले बताए। उनले भने, ‘पानी आउँछ की भनेर आश गरी बसेका छन्। तर, अहिलेसम्म समस्या समाधान भएको छैन। नगरपालिकाले ट्याङ्करमा पानी ल्याएर दिन्छ। किनेर नै खाइरहेका छौँ।’ उनका अनुसार पानीको आशले नै यहाँ स्थानीयले व्यवसाय गर्न थालेका छन्। 

Metro Mart
vianet

थापामगरले भने, ‘ट्याङ्करको पानीले कति पुग्छ? मेरो घरका त दुई घण्टा लगाएर अझै पनि खानेपानी लिन पधेँरामा पुग्छन्। पानी लिन आवतजावत गर्दा दुई घण्टा लाग्छ। भारी बोकेर डाँडामा आउने हो कहाँ सजिलो छ र? गाईबस्तु अलिअलि पालिएका छन्। यसका लागि आकाशे पानी जम्मा गगर्ने गरेका छौँ।’ 

मानुङकोटमा पर्यटकको चहलपहल बढेपछि होटल व्यवशाय गर्र्दै आएकी जितुमाया बस्यालले पानीको अभावमै व्यवसाय सञ्चालन गर्न सकस भएको बताइन्। उनले भनिन्, ‘धारा नभएकाले ट्याङ्करमा ल्याइएको पानी र मिनरलवाटर किनेर व्यवसाय चलाउँदै आएका छौँ। यहाँ होटल व्यवसाय फस्टाउँदै गए पनि पानीको अभाव  उस्तै छ।’ 

यहाँ पानीको समस्या समाधान गर्न सकिए अझै पर्यटक बढ्ने बस्यालको अनुमान छ। उनले भने, ‘बाटो सजिलो भएको छ। ठूला गाडी नचले पनि सानाले चलेको छ। तर, पानीको समस्या भने हट्न सकेको छैन। हामी त होटल व्यवसायीलाई पानीको समस्याले झन् गाह्रो बनाएको छ।’ धारा नहुँदा खानेपानीदेखि शौचालयमा राख्नसमेत किनेको पानी चलाउनुपर्दा व्यवसायी मारमा परेको उनको गुनासो छ। 

बस्यालले भनिन्, ‘कहिलेकहीँ त पाहुनालाई हात धुने पानीसमेत नहुने अवस्था छ। केहीले त हात धुनसमेत नपाएको अवस्था छ।’ धारामा पानी आए व्यवसायीसँगै यहाँ आउने पर्यटकले सास्ती र महँगी झेल्न नपर्ने उनको भनाइ छ। 

स्थानीय पद्मबहादुर थापाले भने, ‘पहिले मानङकोटमा सुन्तलाखेती पर्याप्त हुने गरेकामा अहिले तल्लो क्षेत्रमा मात्रै हुने गरेको छ। पानीको अभाव र रोग देखिएर नै यहाँको सुन्तलाखेती मासियो। तर, सुन्तलाखेती भए पनि स्वादिलो छैन र सुन्तलाको दाना पनि साना छन्। खै के भएको हो यस्तो ?” यहाँको सुन्तलाले राम्रै बजार पाउने गरेको उनले विगत सुनाए। 

पद्मबहादुरले भने, ‘यहाँ पहिलाभन्दा बढी चर्को घाम लाग्छ। त्यहीँमाथि पानीको समस्या छ। केको खेतीपाती हुन्छ र ? सबै चिज किनेर खाने हो। आकाशे पानीको भर पर्नुपर्ने ठाउँ हो। त्यहीमाथि समयमा पानी पर्दैन अनि केको खेती हुनु !’ विगतमा यहाँ करिब ५०/६० परिवार बस्दै आएकामा पानीको समस्याले च्यापेपछि उनीहरु मानुङकोटको फेदी अलैचे, पाटनतर्फ झरेका हुन्। मानुङकोटमा केही सुविधा सम्पन्न होटल बन्ने क्रममा छन्। सुविधा सम्पन्न होटल बने पनि पानीको समस्याले सकस हुने व्यवसायी बताउँछन्। 

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले समपूरक योजनाअन्तर्गत खानेपानी योजनालाई प्राथमिकतामा राखेर समस्या समाधान गर्न लागिएको बताए। उनले चालु आर्थिक वर्षदेखि पर्यटकीयस्थल मानुङकोटको खानेपानी समस्याको समधान गर्ने गरी काम गर्न लागेको जानकारी दिए। प्रमुख न्यौपानेले गण्डकी प्रदेश सरकारले मानुङकोटको खानेपानी समस्या समाधानका लागि चालु आवमा रु दुई करोड विनियोजन गरेको बताए। बजेट विनियोजन भइसकेकाले ठेक्का प्रक्रिया अघि बढाइसकिएको छ। 

प्रमुख न्यौपानेले भने, “यहाँको खानेपानी समस्या समाधान गर्न प्रदेश सरकारले गत वर्ष रु दुई करोड बजेट विनियोजन गरे पनि काम गर्न नसक्दा फ्रिज गएको थियो। गत वर्ष पानीको मुहानको स्रोत खोजी तथा मिलाउँदा समयमा काम गर्न नसक्दा रकम फिर्ता गयो। खानेपानीको योजना विशेष योजना हो। बजेटअनुसार बोलपत्र आह्वान गरिन्छ। बजेट घोषणा गरे पनि यहाँ आइनपुग्दा योजना निर्माणमा समस्या भएको थियो। अहिले आएको छ र कार्यान्वयनको प्रक्रियामा गएका छौँ।” बोरिङ गरी पानी मानुङकोटवासीको घरमा पुर्‍याउने नगरपालिकाको लक्ष्य छ 

फोहरमैलाका डङ्गुर
मानुङकोट पर्यटकीयस्थलका रुपमा विकास भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ। यहाँ आउने आन्तरिक पर्यटकले खानेपानी तथा पेयपदार्थको प्लाष्टिकका बोतल, प्लाष्टिकजन्य फोहरमैला बढ्दै गएको छ। यहाँ घुम्न आउने पर्यटकले जथाभावी फोहरमैला फ्याँकिदिँदा चुनौती बढेको छ। मानुङकोटका विभिन्न स्थानमा फोहरमैलाको व्यवस्थापनका लागि डस्टविन राखिएका छन्। तर फोहर यत्रतत्र फाल्ने गरिएको पाइएको छ।  

फोहरमैला व्यवस्थापनका लागि रोटर्याक्ट क्लब, लायन्स क्लब, लियो क्लबले सरसफाइ गरे पनि व्यवस्थित हुने सकेको छैन। प्लाष्टिकजन्य फोहरमैला केही स्थानमा जलाउने गरिएको छ। धुँवाले प्रदूषण बढेको छ। दुई/तीन दिनको फरकमा यहाँ नगरपालिकाले फोहरमैला उठाउने गरेको छ। तर, पनि फोहरको समस्या पूर्णरुपमा समाधान हुन सकेको छैन।   -रासस

प्रकाशित: Jan 05, 2024| 06:02 शुक्रबार, पुस २०, २०८०
प्रतिक्रिया दिनुहोस्