मंगलबार, पुस १, २०८२

लमजुङमा 'हाइ अल्टिच्युड'को प्याराग्लाइडिङ विद्यालय 

 |  बिहीबार, पुस १९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १९, २०८०

काठमाडौं- लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा आएको छ। लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले उक्त विद्यालय सञ्चालनमा ल्याएको हो।

National life

तीन हजार नौ सय मिटर उचाइमा रहेको उक्त विद्यालयमा  उच्च हिमाली भेगमा कसरी प्याराग्लाइडिङमा उड्ने र उडान गर्नेबारे सीप सिकाइने कम्पनीका सञ्चालक सानोबाबु सुनुवारले जानकारी दिए। नागरिक उड्डयन प्राधिकरणको स्वीकृति र स्थानीय तहसँगको सहकार्यमा विद्यालय सञ्चालन गरिएको उनको भनाइ छ।

प्याराग्लाइडिङ विद्यालय सञ्चालन गर्न आवश्यक पूर्वाधारका लागि दोर्दी गाउँपालिकाले समेत सहयोग गरेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए। गाउँपालिकामा रहेको भेडीगोठ सहितका अन्य पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि पनि प्याराग्लाइडिङ विद्यालय महत्वपूर्ण हुने उनको भनाइ छ।

पालिकामा प्याराग्लाइडिङ विद्यालय स्थानीयका लागि समेत नयाँ अवसर भएको अध्यक्ष अधिकारीले बताए। बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले नौ वर्षदेखि स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानमा प्याराग्ग्लाइडिङ विद्यालय सञ्चालन गर्दै आएको छ। प्याराग्लाइडिङ विद्यालयसँग सहकार्य र सहयोगका लागि विभिन्न कम्पनीले चासो देखाएका छन्। 

हालैमात्र रेडबुलको ‘एड्भेन्चर’ टोली नेपाल आएर विद्यालयको अवलोकन गरेको थियो। त्यसपश्चात् उनीहरूले विद्यालयसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको सञ्चालक सुनुवारले बताए।

Laxmi sunrise bank
kumari

नेपालमा हिमाल आरोहणका लागि मात्रै नभई विदेशी पर्यटक ‘हाइ अल्टिच्युड’ प्याराग्लाइडिङका लागि आउने नेपाल हवाई खेलकुद संस्था (ना) का निवर्तमान अध्यक्ष कृष्ण भट्टराईले बताए। सामान्य प्याराग्लाइडिङ विश्वको धेरै ठाउँमा उपलब्ध रहेको भए पनि हाइ अल्टिच्युड भने नभएको उनको भनाइ छ।

नेपालमा हाइ अल्टिच्युड प्याराग्लाइडिङको अत्यधिक सम्भावना रहेकाले उक्त विद्यालय महत्वपूर्ण हुने भट्टराईको विश्वास छ।

प्रकाशित: Jan 04, 2024| 06:25 बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्