बुधबार, भदौ ११, २०८२

काभ्रेमा 'ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम'

 |  बुधबार, पुस १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस १८, २०८०

vianetvianet

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सुरु गरेको छ। पनौती स्वास्थ्य चौकी, बल्थली स्वास्थ्य चौकी र मल्पी स्वास्थ्य चौकीले संयुक्तरूपमा मंगलबारदेखि सुरु गरेको कार्यक्रम निरन्तर वडाको टोलटोलमा ७० वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै ल्याब परीक्षणसमेत गर्ने योजना रहेको जनाइएको छ। 

Kumaribank

पनौती नगरका १२ वटै वडामा एकैसाथ उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो। पनौती-७ ढोकाफल पाटीमा आयोजित कार्यक्रममा पनौतीका नगरप्रमुख रामशरण भण्डारी र वडाध्यक्ष सविनकुमार ताम्राकारले ज्येष्ठ नागरिकलाई बिरामी पुर्जा दिएर कार्यक्रमको सुरुआत गरिएको थियो। कार्यक्रममा भण्डारीले ज्येष्ठ नागरिक समाजका गहना भएकाले उनीहरूको स्वास्थ्य स्याहारमा परिवार, समुदाय र नगरको जिम्मेवारी रहने बताए। उनले ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा निःशुल्करूपमा गरिने भएकाले प्रत्येक ज्येष्ठ नागरिकले परिवारको सहयोगमा स्वास्थ्य बीमासमेत गर्न अनुरोध गरे। 

‘ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण घरघरमा तथा टोलटोलमा’ भन्ने नीति तथा कार्यक्रमअन्तर्गत प्रारम्भ भएको यस कार्यक्रमअन्तर्गत मंगलबार पनौती स्वास्थ्य चौकीले ६२ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै ल्याब परीक्षण गरेको छ। यस्तै बल्थली स्वास्थ्य चौकीले ३३, मल्पी स्वास्थ्य चौकीले ३३ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ। कार्यक्रम पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

नगर स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले कार्यक्रम सबै वडामा प्रारम्भ भइसकेको र ज्येष्ठ नागरिकले सेवा लिँदा खुसी पाइएको बताए। उनका अनुसार गत आर्थिक वर्षमा तीन चरणमा कार्यक्रम सम्पन्न गरिएको थियो। यस वर्षको कार्यक्रममा आवश्यकताअनुसार थप औषधिको समेत व्यवस्था गरिएको तिमल्सिनाले बताए।

शाखाका अनुसार नगरले ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षणसँगै प्रत्येक महिना दुईपटक मानसिक स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको छ। महिनाको पहिलो शनिबार कुशादेवी र दोस्रो शनिबार पनौती स्वास्थ्य चौकीमा यो क्लिनिक सञ्चालन गर्ने गरिएको छ। 

Metro Mart

यसैबीच बनेपा नगरपालिकाले ‘मेयरसँग नगर स्वास्थ्य कार्यक्रमअन्तर्गत दाँत फुक्लेका ६० वर्षभन्दा माथिका नागरिकलाई  आजदेखि कृत्रिम दाँत निःशुल्क हालिदिने भएको छ। आवश्यकता पहिचान गरिएका ६० वर्षभन्दा माथिका स्थानीय नागरिकको निःशुल्क दाँत राख्न लागिएको नगरले जनाएको हो। 

 नगरले दाँत नभएका नागरिकको पहिचानका लागि आजदेखि १४ वटै वडामा दन्त शिविर सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। समाज डेन्टल केयर र सुप्रिम डेन्टल केयरको प्राविधिक सहयोगमा हुने शिविरबाट छनोट भएका सबैलाई निःशुल्क दाँत राखिदिने योजना बनाइएको नगरका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँले बताए। 

शिविरबाट लागत अनुमान गरी सोहीअनुसार कोटेशन-बोलपत्र आह्वान गरी कार्यक्रम गरिने जनाइएको छ। ‘जेष्ठ नागरिकको सम्मानको लागि यस किसिमको कार्यक्रम गर्न लागेका हौँ’, नगर प्रमुख शान्तिरत्न शाक्यले भने। उनका अनुसार कार्यक्रमले नगरका ६० वर्षभन्दा माथिका नागरिकमा खुसी देखिने अपेक्षा गरिएको छ।

प्रकाशित: Jan 03, 2024| 19:41 बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्