बिहीबार, वैशाख २४, २०८३

जाडोले जुम्लाका सामुदायिक विद्यालय बन्द

 |  आइतबार, पुस १५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १५, २०८०

जुम्ला- जुम्लाका आठवटै स्थानीय तहका सामुदायिक विद्यालय जाडो बढेसँगै बन्द भएका छन्। जिल्लामा बढेको अत्यधिक चिसोले पुसको पहिलो सातादेखि फागुनसम्म पालिकाका सबै सामुदायिक विद्यालय बन्द गरिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए।

National life

सामुदायिक विद्यालय बन्द भएपछि कतिपय विद्यार्थी थप अध्ययन गर्नका लागि सदरमुकाम खलङ्गा बजारलगायत सुर्खेत गएका चन्दननाथ माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत विद्यार्थी विष्णु बुढाले बताए। जाडोले विद्यालय बन्द भएपछि सदरमुकाम खलङ्गा बजारमा कक्षा ११ को अङ्ग्रेजी विषयको ‘ट्युसन’ पढ्ने गरेको पातारासी गाउँपालिका–२ का विद्यार्थी विशाल ऐडीको भनाइ छ।

आगामी फागुनको १ गतेदेखि विद्यालयमा पढाइ हुने भएको छ। बिदामा बसेका सबै शिक्षकलाई माघको अन्तिम साताभित्र उपस्थित हुन भनिएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

चिसोले यहाँका स्थानीय तहले विद्यालय बन्द गरेपछि जिल्ला बाहिरका शिक्षक घर फर्कन थालेका छन्। कतिपय शिक्षकले बजारमा ट्युसन पढाउन थालेका तिला गाउँपालिका–१ मा रहेको सीता माध्यमिक विद्यालयका शिक्षक सुनम बुढाले बताए।

कर्णाली प्राविधिक शिक्षालयले उच्च हिमाली भेगमा बढेको चिसोले जनजीवन कष्टकर र पठनपाठन गर्न गराउन कठिनाइ भएकाले सम्पूर्ण सङ्कायमा अध्ययनरत विद्यार्थीलाई आजदेखि फागुनको २ गतेसम्म हिउँदे बिदा दिइएको शिक्षालय प्रमुख टेकेन्द्रबहादुर थापाले जानकारी दिए। अहिले जिल्लाको तापक्रमको दिनहुँ ‘माइनस’मा जाने गरेको हावापानी फिल्ड कार्यालयले जनाएको छ।

प्रकाशित: Dec 31, 2023| 19:02 आइतबार, पुस १५, २०८०
प्रतिक्रिया दिनुहोस्