सिन्धुली- सिन्धुली जिल्लाको सबैभन्दा ठुलो क्याम्पस मानिएको सिन्धुली बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले कक्षा बहिष्कार गरेका छन्। बिबिएस प्रथम वर्षमा नियमित अध्ययन गर्न उपस्थित हुने विद्यार्थीहरूले उपप्राध्यापकहरूले अध्यापन गराएको नबुझिएको भन्दै कक्षा बहिष्कार गरेका हुन्।
बिबिएस प्रथम वर्षको कक्षा सुरु भएको एक महिना बढी भइसकेको छ। विद्यार्थीहरूले बिजनेस स्टाटिस्टिक्स र बिजनेस कम्युनिकेसन इङ्लिसको कक्षा बहिस्कार गरेका हुन्। उनीहरूले उक्त प्राध्यापकहरू परिवर्तन गरी कक्षा अगाडी बढाउनुपर्ने मागसहित निमित्त क्याम्पस प्रमुख उमेश कोइराला र व्यवस्थापन संकायका विभागीय प्रमुख कृष्ण प्रसाद अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन्।
उक्त विषयहरूको पठनपाठनमा लामो समयदेखि समस्या भएको भन्दै विद्यार्थीहरू असन्तुष्ट हुँदै आएका थिए। यस पटक भने विद्यार्थीहरूले लिखितरूपमै असहमति जनाएका हुन्। विगतका वर्षहरूमा पनि यस क्याम्पसमा गुणस्तरीय शिक्षा नभएको भन्दै असन्तुष्ट विद्यार्थीहरू नजिकैको अर्को बिबिएस अध्ययन हुने क्याम्पसमा पलायन हुने गरेका थिए।
क्याम्पससँग जोडिएका केही व्यक्ति भने विद्यार्थीलाई अनावश्यक दबाब दिई आफ्नो कमजोरी ढाकछोप गर्न लागेका छन्। यस विषयमा क्याम्पसका स्ववियु सभापति कृष्ण लामिछानेसँग कुरा गर्दा आफू विद्यार्थीको पक्षमा रहेको बताए। उनले भने, 'विद्यार्थी क्याम्पसको सम्पत्ति हो। गुणस्तरीय शिक्षा नभएको विद्यार्थीको गुनासो आएपछि योग्य शिक्षक ल्याउने जिम्मेवारी क्याम्पस प्रशासनको हो।' यस कार्यका लागि आफू क्याम्पस प्रशासनसँगै रहेको पनि लामिछानेले जानकारी दिए।
'विद्यार्थीको पटक पटकको गुनासो आएपछि शिक्षकहरूले नैतिकताका आधारमा पनि कक्षा छोड्नुपर्छ, यो समस्या विगत लामो समय देखीको हो, विद्यार्थीहरूले लिखित आवाज उठाएको कुरालाई केही व्यक्तिले विद्यार्थीलाई अनावश्यक दबाब सिर्जना गरेको कुरा आएको छ, यो अक्षम्य छ। विद्यार्थीको भविष्य कसैको जागिरसँग किस्तीमा साट्न नपाइने ' लामिछानेले भने।
सिन्धुली बहुमुखी क्याम्पसमा विगत १ वर्षदेखि क्याम्पस प्रमुख सारदामणी खड्का क्याम्पसको दैनिक कामकारबाहीमा उपस्थित छैनन्। उनी उपचार गराउनको लागि काठमाडौँ स्थित अस्पतालमा छन्। विगत एक हप्ता अगाडी मात्रै उनले राजीनामा दिएका हुन्।
व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी गरी तीन संकाय पढाइ हुने सिन्धुली जिल्लाको शैक्षिक धरोहर मानिएको सिन्धुली बहुमुखी क्याम्पसले दिनप्रतिदिन यसको साख गुमाउँदै गइरहेको छ। यसको कारक भने राजनीतिक दलहरूले क्याम्पसलाई आफ्नो भर्ती केन्द्र बनाउँदाको परिणाम भएको विद्यार्थीको गुनासो छ।
पार्टीका नेताहरू क्याम्पसमा प्राध्यापक हुँदा क्याम्पसको शैक्षिक विषयमा भन्दा पनि राजनीतिक बहस बढी हुने गरेको छ। केही प्राध्यापकहरू क्याम्पस सुधारको आवाज पनि उठाइरहेका छन् भने केही विद्यार्थी सङ्गठन, क्याम्पस प्रशासन र सञ्चालक समितिलाई आफ्नो वशमा राखेर निहित स्वार्थ प्राप्तिमा केन्द्रित छन्।
विगत एक दशकदेखि अपवाद बाहेक राजनीतिक आवरण बोकेको व्यक्तिहरू प्राध्यापकमा नियुक्त हुँदै आएका छन्। साधारण सभाबाट छानिनुपर्ने क्याम्पस सञ्चालक समिति राजनीतिक दलका सीमित नेताहरूको सहमतिबाट बन्ने गरेको छ। सञ्चालक समितिले क्याम्पसको दैनिक गतिविधिमाथि चासो नराख्दा क्याम्पस धराशायी बन्दै गएको छ।
क्याम्पसमा विद्यार्थीको नियमित उपस्थिति मात्र होइन विगत केही वर्षको भर्ना सङ्ख्या हेर्ने हो भने विद्यार्थी आधाभन्दा बढीले कम भएका छन्। यो तथ्य कक्षा ११, स्नातक प्रथम वर्ष र स्नातकोत्तर प्रथम सेमेस्टरको हो। क्याम्पसको बारेमा सर्वसाधारणसम्म नकारात्मक सन्देश पुगेकोले क्याम्पसमा विद्यार्थी सङ्ख्या घटेको बुझ्न असजिलो छैन। क्याम्पसमा मानविकी सङ्काय भने झनै धराशायी अवस्थामा छ। ६ जना प्राध्यापक भएको उक्त सङ्कायमा विद्यार्थीको नियमित उपस्थिति प्राध्यापक सङ्ख्या भन्दा कम छ।
यस विषयमा क्याम्पस प्रशासन र सञ्चालक समितिले कुनै सुधारात्मक कदम चाल्न सकेको छैन।