मंगलबार, पुस १, २०८२

जंगे पिलरमा राष्ट्रिय झण्डा फहराएर सकियो एमालेको संकल्प यात्रा

 |  आइतबार, पुस १, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १, २०८०

काठमाडौं- नेकपा एमालेले १८ दिनअघि बैतडीको झुलाघाटबाट सुरू गरेको समृद्धिका लागि संकल्प यात्रा आइतबार पाँचथरको चिवाभन्ज्याङ पुगेर समापन भएको छ। झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर यात्रा सुरु गरेका एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले चिवाभन्ज्याङमा पनि राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर यात्राको समापन गरे।

National life

भारतको सिक्किमसँग सीमा जोडिने चिवाभन्ज्याङमा अध्यक्ष ओलीले १८ दिनको मध्यपहाडी लोकमार्गको यो यात्राले देशमा विद्यमान विभिन्न समस्या समाधान गर्न एमाले सक्षम छ भन्ने सन्देश प्रवाह गरेको दाबी गरे। उनले यात्राका समयमा संकलन भएका सुझाव र समस्याहरूलाई समीक्षा गर्दै समाधानका लागि एमालेले प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले वर्तमान सरकार शान्ति सुरक्षा र विकासका लागि असफल भइसकेको दाबी गर्दै अब एमाले देशको दरिलो शक्तिका रुपमा स्थापित हुने बताए।

झुलाघाटदेखि निरन्तर यात्रामा हिँडेका अध्यक्ष ओली १७ औं दिनमा पाँचथर सदरमुकाम फिदिम पुगेका थिए। शुक्रबार भने केही अस्वस्थ भएका ओली फिदिमबाट हेलिकोप्टरमा चिवाभञ्जाङ पुगेका थिए। त्यसअघि उनले झुलाघाटदेखि झण्डै दुई हजार किलोमिटर सडक यात्रा गरे र कार्यक्रमहरुलाई सम्बोधन गरे। उनी स्थानीयसँगको अन्तरक्रियामा पनि उत्तिकै सहभागी भए। पूरै यात्रामा उनलाई पत्नी राधिका शाक्यले साथ दिएकी थिइन्।

मंसिर १४ गते एमालेले यो अभियान थालेको थियो। मध्यपहाडी लोकमार्गले छुने २६ वटा जिल्लामा एमालेले ३० वटा ठूला सभा र एक सयभन्दा बढी कार्यक्रममार्फत स्थानीयसँग अन्तर्क्रिया गरेको थियो। यात्रामा अध्यक्ष ओलीलगायत पार्टीका केन्द्रीय पदाधिकारीहरु सबै स्थानमा पुगेका थिए।

प्रकाशित: Dec 17, 2023| 13:26 आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्