मंगलबार, पुस १, २०८२

समझदारी भन्दैमा कांग्रेसले सरकार बोकेर बस्नुपर्छ भन्ने छैन: गगन

 |  आइतबार, पुस १, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समझदारी गरेको हो भन्दैमा वर्तमान सरकार बोकेर बस्नुपर्छ भन्ने नभएको बताएका छन्। एक वर्षमा सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाउँदै उनले काम गर्न नसकेपछि सरकार बदलौं भन्ने आवाज उठ्नु स्वाभाविक भएको बताए।

National life

प्रेस युनियन पाल्पाले आइतबार गरेको पत्रकार भेटघाटमा उनले भने, ‘पुस १२ गतेदेखि सरकारमा सम्मिलित मन्त्रीहरुसँग समीक्षा बैठक छ। कांग्रेसबाट सहभागी भएका मन्त्रीबाट पार्टीका कार्यकर्ता उत्साहित भएको पाइएको छैन। त्यसैले यस विषयमा धेरै छलफल हुनेछ।’

महामन्त्री थापाले गति बढाउने र मति बदल्ने कुराको अनुभूति सरकारबाट हुनुपर्ने बताउँदै सुशासन र सेवा प्रवाहमा सरकारले गति बढाउन नसकेको टिप्पणी गरे। अघिल्लो वर्षजस्तै यस वर्ष पनि उस्तै ढंगबाट काम गर्ने हो भने सरकारलाई बोकेर बस्नुपर्छ भन्ने नभएको महामन्त्री थापाले बताए। उनले भने, ‘राम्रो काम गर्न नसक्ने हो भने कांग्रेसबाट सम्मिलित मन्त्रीहरु सरकारमा टँसिरहनु पर्छ भन्ने छैन।’

संसद्बाट कानुन बनाउने काम हुन नसकेको, सेवा प्रवाह, सुशासन, जोखिम उठाउने काममा सरकारले उल्लेखनीय काम गर्न नसकेको महामन्त्री थापाले बताए। निर्वाचन अघिको गठबन्धन अहिलेको सरकार नभएको बताउँदै महामन्त्री थापाले आलोपालो प्रधानमन्त्री बन्ने भन्ने राजनीतिक इमान्दारिता कांग्रेसमा रहँदारहँदै सरकारले राम्रो काम नगर्ने हो भने बदलिने बाटोमा जानुको विकल्प नभएको बताए।

प्रकाशित: Dec 17, 2023| 11:44 आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्