काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माणमा सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्। शनिबार तेह्रथुममा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन्।
पछिल्लो समय मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिएर सरकारले बजेट निकासा नगरेको उनले उल्लेख गरे। उनले मध्यपहाडी लोकमार्गका केही ठाउँमा बजेट नै निकासा नगरेको पाइएको बताए। सरकारले हेलचेक्र्याइँ अन्त्य गरी तत्काल लोकमार्गका निम्ति बजेट विनियोजन गर्नुपर्नेमा उनले जोड दिए।
उनले एमालेप्रति जनताको उत्साह र भरोसा धेरै रहेको पाएको पनि बताए।
वर्तमानका समस्या समाधान गर्न नसक्ने पार्टी बुढो हुने उनको टिप्पणी छ। स्थापना मितिले पार्टी बुढो नहुने उनको भनाइ थियो।