काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले माओवादी केन्द्र नेतृत्वको सरकार परिवर्तन गर्नुपर्ने बताएका छन्।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न नसकेको टिप्पणी गरे।
सरकारले जनतामा आशा जगाउनसमेत नसकेको उनको टिप्पणी छ । कांग्रेस नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्या समाधान गर्ने नेता कोइरालाले दाबी गरे।
'सरकारसँग जनता निराश भएका छन् । जताततै बेथिति मौलाएको छ, भ्रष्टाचार बढेको छ,' उनले भने, 'जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ । अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन।'
नेता कोइरालाले आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक अराजकतातर्फ देश उन्मुख भएको बताए ।
अर्को प्रसंगमा आफ्नो समूहमा संसदीय दलको नेता परिवर्तनको आवाज उठेको बताउँदै नेता कोइरालाले भने, 'लोकतन्त्रमा अंकको खेल हुन्छ । हामीसित दलको नेता फेर्ने संख्या छैन।'
बुधबार समूहको बैठकमा महामन्त्री गगन थापाले नेता कोइरालालाई संसदीय दलको नेता बन्न प्रस्ताव गरेका थिए।
नेता कोइरालाले कोसी प्रदेशमा देखिएको विवाद वार्ता र संवादबाट टुंगो लगाउनुपर्नेमा जोड दिए। पहिचानवादीहरूसित वार्ताको टेबलमा बसेर विवाद मिलाउन उनले सुझाए।
'कोसी नामका विषयमा विवाद छ। त्यसलाई असन्तुष्ट पक्षसित बसेर समाधान गर्नुपर्छ,' उनले भने।