काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वकर्ताहरु सत्ता र स्वार्थ केन्द्रित हुँदा देशको विकास हुन नसकेको बताएका छन्।
मध्यपहाडी लोकमार्ग यात्रा अन्तर्गत भोजपुरमा आयोजित कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। यद्पि एमाले अध्यक्ष ओलीले २४ घण्टाअघि नै उनले एमाले सरकारमा गएपछि मात्रै देशमा समृद्धि हुने दाबी गरेका थिए।
ओलीले आफू सत्तामा जानका लागि गत वर्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थनसमेत गरेका थिए। अहिले पनि नेपाली कांग्रेससँग मिलेर सरकार गठनका लागि कसरत गरिरहेका छन्।
तर, सत्ता खोजिरहेका उनै ओलीले जनतालाई भ्रमित बनाउनका लागि सत्ताकेन्द्रित राजनीतिले देशको विकास हुन नसकेको बताए। २०७७ मा सत्तामा टिकिरहनका लागि उनले दुई-दुई पटक असंवैधानिक रुपमा संसद् विघटन गरेकोसमेत जनतालाई बिर्साउने प्रयास गरे।
उनले कुनै श्राप परेर नेपाल पछि परेको नभइ सत्ता स्वार्थ, स्वार्थमा मात्रै केन्द्रित भएर राजनीति, अर्थनीति, सामाजिक नीति र त्यसमै केन्द्रित भएको संस्कृति चलाएपछि देशको विकास हुन नसकेको जिकिर गरे।
उनले नेपाल गरिब हुनुको कारण सत्तासीनहरुको स्वार्थीपन, सत्ता स्वार्थ, लुटेरा प्रवृत्ति, आफू धनी हुने, जनता नहेर्ने, देश नहेर्ने, विकासमा रुची नहुनु र चासो नहुनु रहेको बताए।
उनले भने, ‘कुनै श्राप परेर हाम्रो देश पछि परेको होइन। सत्ता स्वार्थ भएर आत्मकेन्द्रित भएर, स्वार्थमा मात्रै केन्द्रित भएर राजनीति, अर्थनीति, सामाजिक नीति र त्यसमै केन्द्रित भएको संस्कृति चलाएपछि देशको विकास कसरी हुन्छ । नेपाल गरिव हुनुको कारण सत्तासीनहरुको स्वार्थीपन, सत्ता स्वार्थ, लुटेरा प्रवृत्ति, आफू धनी हुने, जनता नहेर्ने, देश नहेर्ने, विकासमा रुची नहुने, चासो नहुने त्यसकारण हो।’
अध्यक्ष ओलीले उपयुक्त, दृष्टिकोण भएको, जनता र जनताका हीतहरुप्रति जवाफदेही सरकार बनेन भने देश गरिब हुने बताए।