काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संस्थापनइतर समूहका नेता शेखर कोइरालालाई संसदीय दलको नेता बनाउनका लागि लाग्न आग्रह गरेका छन्।
काठमाडौंको अनुपम फुडल्यान्डमा बुधबार बसेको बैठकमा बोल्दै महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवाबाट पार्टी चल्न नसक्ने आरोप लगाउँदै शेखरलाई दलको नेता लाग्न आग्रह गरेका हुन्। थापा यसअघि सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा पराजित भएका थिए। संसदीय दलको मतदानमा ६४ जना सांसद्को समर्थन पाएर देउवा विजयी हुँदा थापाले जम्मा २५ मत मात्र पाएका थिए। सभापति शेरबहादुर देउवासँग महामन्त्री थापा ३९ मतान्तरले पराजित भएका थिए।
त्यस समय नेता शेखर पनि संसदीय दलको नेताका लागि आकांक्षी थिए। उनले विभिन्न अन्तर्वार्ताहरुमा आफू नै संसदीय दलमा चुनाव लड्ने बताएका थिए। पछि समूहको बैठकमा गगनले कुनै पनि हालतमा पछि नहट्ने अडान लिएपछि शेखर पछि हटेका थिए।
यसबीचमा शेखर-गगनबीचको कयौंपटक टकराब भएको छ। समूहको भेलामा समेत अनुपस्थित हुने बताएपछि महामन्त्री गगनको उपस्थितिकै लागि भेला एकदिन पछि सारिएको थियो। गगनलाई भेलामा उपस्थित गराउन गगनका ससुरासमेत रहेका समूहका अर्का नेतासमेत रहेका गगन र शेखरबीच तीन घण्टा संवाद गराएका थिए।
संसदीय दलको नेतामा आफू जसरी पनि लड्ने भन्दै नेता शेखर कोइरालालाई बाइपास गर्दै अघि बढेका महामन्त्री थापाले आफू कुनै पनि हालतमा नहुने देखेपछि शेखरलाई अघि सारेका हुन्। संसदीय दलको नेतामा पराजित भएको ८ महनापछि पनि उनले दलको नेता बन्ने प्रयास जारी रहने बताएका थिए।
गत साउनमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले भनेका थिए, 'म दलको नेतामा लडेको मान्छे हुँ। हुनुपर्छ भनेरै प्रयास गरेको हो। मेरो निरन्तर कोशिश हुन्छ।' आफू संसदीय दलको नेतामा पराजित भएको करिब एक वर्षपछि गलेको मानसिकतासहित शेखरलाई दलको नेता बनाउन आह्वान गरेका हुन्।
राष्ट्रिय सभाको निर्वाचन नजिकिँदै गर्दा शेखरले आफ्नो समूहका नेताहरुलाई उम्मेदवार बनाउनका लागि पहल गर्न डाकेको बैठकमा महामन्त्री थापाले भने शेखरलाई संसदीय दलको नेतामा अघि सार्ने प्रस्ताव गरेका हुन्। उनले भने, ‘संसदीय दलको नेता फेर्न आजैबाट लागौँ। अब शेखर कोइरालाालई बनाउने अघि बढौँ।'
उनले सभापति देउवाले नै महासमिति बैठकलाई सारिरहेको आरोप लगाएका छन्। यद्पि यसअघि बसेको पदाधिकारी बैठकमा नै सभापति देउवाले महासमिति बैठक चिसोमा गर्न सकिने-नसकिने र राष्ट्रिय सभा निर्वाचनको तयारी गर्नुपर्ने भन्दै मिति सार्ने विषयमा धारणा बनाउन महामन्त्री थापासहितका नेताहरुलाई आग्रह गरेका थिए।
महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले महासमितिमा प्रस्तुत गर्ने प्रतिवेदनसमेत तयार नगरेका कारण उनीहरु महासमिति बैठक सार्ने विषयमा पार्टीको आन्तरिक बैठकमा मौनता देखाएका थिए। महामन्त्री थापाले आगामी पार्टीको महाधिवेशन पनि समयमा हुन नसक्ने बताएका छन्।
उनले भने, ‘महासमिति बैठक त समयमा गर्न नचाहने सभापतिले महाधिवेशन पनि समयमा गर्दैनन्। ०८२ कांग्रेसको पन्ध्रौँ महाधिवेशन पनि हुँदैन।’ अर्को गु्टको भेलामा सहभागी भएका महामन्त्री थापाले सभापति देउवा अर्को गुटको संरक्षक भएकोसमेत आरोप लगाएका छन्।
यसअघि मन्त्रीदेखि अन्य विभिन्न भागबण्डाहरुमा संस्थापन इतर समूहका नेता शेखरलाई मात्रै सल्लाह गरेर अघि बढेकोतर्फ संकेत गर्दै आफूहरुलाई अन्याय भएको बताएका छन्। ‘हामीले अहिलेसम्म मापदण्ड बनाउन सकेका छैनौँ। पार्टीमा एकदमै अन्याय भएको छ। पार्टीका सभापतिले सबैलाई न्यायपूर्ण व्यवहार गर्नु भएको छैन’, उनले भने, ‘पार्टी सभापति आफैं एउटा समूहको संरक्षक भएका छन्। आफ्नो समूहलाई हेर्ने र अर्कोलाई हेर्ने नजर नै अर्को छ।’