काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा आफ्नो समूहले भाग नपाए विद्रोह गर्ने संकेत गरेको छ। बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बुधबार भएको बैठकमा बोल्दै नेताहरूले संस्थापनले माइनस गरेर अघि बढ्न खोजे असहयोग मात्र नभई विद्रोह गर्नुपर्नेसमेत बताएका छन्।
‘सम्मानजक भागबन्डा नगरिएमा राष्ट्रिय सभा निर्वाचनमा असहयोग र उम्मेदवारी नै नदिने रणनीतिसहित अघि बढ्नुपर्छ’, बैठकमा सहभागी एक नेताले भने, ‘संस्थापनले सम्मानजनक व्यवहार गर्नुपर्छ। यदि त्यसो नगरी पेलेर अघि जान खोजेमा हामी राष्ट्रिय सभा निर्वाचनमा भाग लिँदैनौं र विद्रोह गर्छौं।’
कांग्रेस नेता गुरुराज घिमिरेले चुनाव हारेकाहरुलाई राष्ट्रिय सभामा लैजान नहुने बताए। राष्ट्रिय सभा चुनावमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला र गोपालमान श्रेष्ठ उम्मेदवार बन्ने चर्चा छ। उनीहरुप्रति लक्षित गर्दै घिमिरेले चुनाव हारेकाहरुलाई राष्ट्रिय सभामा लैजान नहुने बताएका हुन्।
गत वर्ष भएको आम निर्वाचनमा सिटौला झापा-३ मा पराजित भएका थिए भने श्रेष्ठ समानुपातिक पद्धतिको उम्मेदवार सूचीमा भए पनि सांसद चयन हुन सकेका थिएनन्। त्यसैगरी नेताहरुले महामन्त्री गगनकुमार थापालाई शेखर कोइरालासँग मिलेर अघि बढ्न सुझाएका छन्। उनीहरूले महत्वपूर्ण निर्णय र भागबन्डा मिलाउनुअघि सामूहिक रुपमा छलफल हुनुपर्ने बताएका छन्।
‘कम्तीमा हाम्रा शीर्ष नेताहरूले कुनै पनि निर्णयअघि छलफल गरुन्’, बैठकमा एक नेताले भने, ‘छलफल नै नगरी निर्णयमा जाँदा समूहमा विश्वास हुँदैन।’ नेता कोइराला र महामन्त्री थापाबीच दरार आएकोले बैठक नै सारेर मिलाउन प्रयास गरिएको भन्दै नेताहरूले दुवै जनाको नाम लिएर यदि मिलेर अघि नबढेमा संस्थापनले अझै पेल्न सक्नेतर्फ सचेत गराएका थिए।
शेखरले महामन्त्री थापासँग मंगलबार तीन घण्टा लामो वार्ता गरेपछि बुधबारको बैठकमा अधिकांश नेताहरू सहभागी भएका हुन्। गगन पनि ढिलोगरी उक्त बैठकमा सहभागी भए। बैठकका क्रममा नेताहरूले यदि मिलेर अघि नबढ्ने हो भने समस्या हुने बताएपछि डा. कोइरालाले आफूहरूबीच बाहिर आएजस्तो कुनै समस्या नभएको स्पष्टीकरण दिए।
उनले गगनसँग अहिले पनि आफू सहकार्यमा रहेको बताउँदै समय-समयमा छलफल पनि गरिरहेको जवाफ दिएका थिए। गगनसँग मंगलबार पनि लामो छलफल भएको उल्लेख गरेका उनले मिलेर जाने कुरामा कुनै समस्या नरहेको भने नेताहरूलाई आश्वस्त बनाए।
त्यसैगरी शेखर समूहले आगामी पुस १६ देखि १९ गतेसम्म ललितपुरको गोदावरीमा तय गरिएको महासमिति बैठक सार्न नहुने निष्कर्ष निकालेको छ। यद्यपि यस विषयमा महामन्त्री थापाले भने कुनै प्रतिक्रिया दिएका छैनन्।
बैठकमा छोटो समय बसेर निस्किएका उपसभापति धनराज गुरुङले आफूहरु महासमिति बैठक निर्धारित मितिमै हुनुपर्ने पक्षमा रहेको बताए। यसअघि आफ्नै निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले चिसोमा महासमिति सदस्यहरूलाई काठमाडौं आउन कठिन हुने भएकोले बैठकको मितिबारे पुनर्विचार गर्न महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मालाई आग्रह गरेका थिए।
महामन्त्रीद्वय थापा र शर्माले महासमितिमा पेश गरिने प्रतिवेदनमा समेत काम गर्न सकेका छैनन्।