बिहीबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय सभामा उम्मेदवार बन्‍न समानुपातिक बन्दसूचीबाट श्रेष्ठ र ढुंगानाको नाम फिर्ता

राष्ट्रिय सभामा उम्मेदवार बन्‍न समानुपातिक बन्दसूचीबाट श्रेष्ठ र ढुंगानाको नाम फिर्ता

नेकपा एकीकृत समाजवादीका सबै उम्मेदवारले नाम फिर्ता लिने, माओवादीका ११ र एमालेका १ जनाको नाम हटाइएको छ।
 |  सोमबार, मंसिर २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २५, २०८०

काठमाडौं- आसन्‍न राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्‍नका लागि नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठसहित २४७ जनाले समानुपातिक सूचीबाट नाम फिर्ता लिएका छन्। ०७९ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक बन्दसूचीमा नाम रहेका श्रेष्ठसहित २४७ जनाको नाम फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ। 

National life

आयोगले बन्दसूचीमा नाम रहेका व्यक्ति राष्ट्रियसभा सदस्यको उमेदवार बन्न नपाउने निर्णय गरेको थियो। त्यसपछि सूचीबाट नाम हटाउन नेताहरूले निवेदन दिएका हुन्। आयोगमा प्राप्त भएका निवेदनहरुमा अधिकांश नेताहरुले निर्वाचन प्रयोजन उल्लेख गरेको आयोगका सहसचिव यज्ञ भट्टराईले जानकारी दिएका छन्। 

उनले भने, 'बन्दसूचीबाट नाम हटाउन आएका निवदनहरूबारे निर्णय हो। अधिकांश नेताहरुको राष्ट्रियसभाको चुनावलक्षित भए पनि केही भने अन्य कारण उल्लेख गरिएका निवेदनहरु प्राप्त भएका छन्।' 

नेपाली कांग्रेसको प्रतिनिधिसभातर्फको समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेहरुमा गोपालमान श्रेष्ठ, आनन्दप्रसाद ढुंगाना, अब्दुल सतारसहित कुल ६ जनाको नाम बन्दसूचीबाट हटाइएको छ।

ह्रृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक बन्दसूचीबाट जनता प्रगतिशीलका सबै उमेदवारको नाम हटाइएको छ। नेपाल संघीय समाजवादी, राष्ट्रिय मुक्ति आन्दोलनले पनि सूचीबाट अधिकांश नाम फिर्ता गराएको छ।

Laxmi sunrise bank
kumari

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का एक, नेपाल समाजवादी पार्टीका तीन, नेपाल कम्युनिस्ट पार्टीका एक, नेकपा (एकीकृत समाजवादी)का चारजनाको फिर्ता लिइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एकजनाको नाम बन्दसूचीबाट फिर्ता भएको छ। राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका एक/एक समानुपातिक उमेदवारको नाम पनि बन्दसूचीबाट हटाइएको छ।

सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभाको समानुपातिक बन्दसूचीबाट आफ्ना सबै उमेदवारको नाम फिर्ता लिनका लागि निवेदन दिएको छ। सो पार्टीबाट समानुपातिकमा १०४ जनाको उमेदवारी दिइएको थियो। तीमध्ये प्रतिनिधिसभातर्फका दुई उमेदवारले नाम फिर्ता लिइसकेका छन्। एकीकृत समाजवादीबाट समानुपातिक उमेदवार रहेका बालकृष्ण गैरे र लिमा अधिकारीको नाम यसअघि नै बन्दसूचीबाट हटाइएको छ। 

०७९ मंसिर ४ गते भएको निर्वाचनमा राष्ट्रिय दल नबनेपछि बन्दसूचीको औचित्य नरहेकाले नाम फिर्ता लिन आयोगले पत्राचार गरेको थियो। सोहीअनुसार सबै उमेदवारको नाम फिर्ता लिन निवेदन दिएको एकीकृत समाजवादीका एक पदाधिकारीले जानकारी दिए। सो पार्टीका १०२ जनाको उमेदवारी फिर्ताको निवेदनबारे केही दिनमै निर्णय गरिने आयोगले जनाएको छ।

प्रकाशित: Dec 11, 2023| 17:59 सोमबार, मंसिर २५, २०८०
प्रतिक्रिया दिनुहोस्