बिहीबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • कर बक्यौता १ खर्ब १३ अर्ब, साढे ५ हजार करदाता मुद्दामामिलामा

कर बक्यौता १ खर्ब १३ अर्ब, साढे ५ हजार करदाता मुद्दामामिलामा

 |  शुक्रबार, मंसिर ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ८, २०८०

काठमाडौं- गत आर्थिक वर्ष ०७९/८० सम्ममा एक खर्ब १३ अर्ब सात करोड ५८ लाखबराबर कर बक्यौता उठ्न बाँकी रहेको देखिएको छ। 

National life

बिहीबार सार्वजनिक भएको आन्तरिक राजस्व विभागको वार्षिक प्रतिवेदनअनुसार दुई लाख ७० हजार तीन सय ८३ करदाताबाट कर बक्यौता, ब्याज, थप दस्तुर विलम्ब शुल्कलगायत शीर्षकमा यो रकम उठ्न बाँकी देखिएको हो।
      
अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा कुल रु ६५ अर्ब ३५ करोड ६७ लाख २२ हजार सात सय रहेको कर बक्यौता रकम एक वर्षमै रु. ४७ अर्ब ७१ करोड ९१ लाख ४० हजार थपिएको छ। 

त्यस्तै, विभिन्न कर कार्यालयबाट भएको कर निर्धारणउपर करदाताले चित्त नबुझाई प्रशासकीय पुनरावलोकनमा गएका करदाताको संख्या करिब साढे पाँच हजार देखिएको छ। गत असार मसान्तसम्म पाँच हजार चार सय ४३ करदाता मुद्दा मामिलामा गएका छन्। 

प्रशासकीय पुनरावलोकनमा गएको तथा अन्य न्यायिक निकायमा अपिलमा रहेको विवादित रकम रु. एक खर्ब ४५ अर्ब ७७ करोड ८९ लाखबराबर छ। अघिल्लो आर्थिक वर्षमा यस्तो रकम रु. एक खर्ब ३३ अर्ब ७१ करोडबराबर थियो।
      
कर बक्यौता र मुद्दा मामिलामा गएर अपिलमा रहेकामध्ये आयकरसँग सम्बन्धित बढी देखिएका छन्। विभागको प्रतिवेदनअनुसार एक लाख ३६ हजार आठ सय २२ करदाताबाट रु. ५९ अर्ब ४० करोड ८४ लाख ८६ हजारबराबर आयकर बक्यौता देखिएको छ। त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ एक लाख २९ हजार चार सय ८५ करदाताबाट रु. ५१ अर्ब १२ करोड ६० लाख भ्याट असुली हुन बाँकी छ। 

अन्तःशुल्कतर्फ एक हजार पाँच सय पाँच करदाताबाट रु. एक अर्ब ६१ करोड ५६ लाख ५७ हजारबराबर राजस्व असुली हुन सकेको छैन। अन्यतर्फ दुई हजार पाँच सय ७१ करदाताबाट रु. ९२ करोड ५७ लाख १० हजारबराबर कर उठेको छैन।
      
प्रशासकीय पुनरावलोकनलगायत न्यायिक निरुपणमा गएका करदाताको संख्या हेर्दा आयकरतर्फ सबैभन्दा धेरै दुई हजार आठ सय आठ करदाता अर्थात् रु. एक खर्ब २७ अर्ब ६९ करोड ४५ लाख ४९ हजारबराबर कर रकम देखिन्छ। 

Laxmi sunrise bank
kumari

त्यस्तै, भ्याटतर्फ रु. १४ अर्ब ६४ करोड ११ लाख १० हजारबराबर कर रकम रहेका दुई हजार तीन सय १८ करदाता मुद्दा मामिलामा गएका छन्। अन्तःशुल्कतर्फ एक सय ६४ करदाताको रु. तीन अर्ब १३ करोड ७५ लाख ६८ हजारबराबर कर रकम न्यायिक अपिलका लागि गएको छ।

त्यस्तै, गत आर्थिक वर्षसम्ममा आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयमा रु. ७६ अर्ब एक करोड ४२ लाखबराबर बेरुजु देखिएको छ। यसरी सरकारले उठाउनुपर्ने कर बक्यौता र निर्धारण भएको कर रकममाथि मुद्दामामिलामा जाने करदाताको संख्या बढ्दै गएपछि त्यसको असर वार्षिक राजस्व असुलीमा देखिएको छ। 

आन्तरिक राजस्व विभागमार्फत गत आव ०७९/८० मा रु. ६ खर्ब २६ अर्ब ६१ करोड कर असुली गर्ने लक्ष्य राखिएकोमा लक्ष्यको ७६.५७ प्रतिशत अर्थात् रु. चार खर्ब ७९ अर्ब ७९ करोडबराबर मात्रै उठेको थियो।

प्रकाशित: Nov 24, 2023| 22:02 शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्