ढोरपाटन- हिजोआज विवाह, व्रतबन्ध र सांस्कृतिक कार्यक्रममा पञ्चेबाजा कम गुञ्जिन्छन्। पश्चिमा संस्कृतिको नक्कल गर्नुका साथै आधुनिक प्रविधिको प्रयोग बढ्न थालेपछि मौलिक संस्कृति हराउँदै गएका छन्। मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सरकारी निकायबाट पहल हुनुपर्ने बुढापाका बताउँछन्।
पछिल्लो एक दशकयता पञ्जेबाजाको सट्टा ठूलाठूला साउण्ड सिस्टममा ‘रेकर्डेड’ गीत बज्ने गर्छन्। मौलिक संस्कृतिका रुपमा रहेको पञ्चेबाजा दलित समुदायअन्तर्गतका दमाइँ जातिले बजाउने प्रचलन रहेकामा पछिल्लो समय मगर र गुरुङ समुदायका युवाले पनि बजाउन थालेका स्थानीय बताउँछन्।
बुढापाकाले नसक्ने र युवा पुस्ताले चासो नदिँदा पञ्चेबाजा लोप हुन थालेका स्थानीय भक्तबहादुर दर्जीले बताए। उनले बागलुङ जिल्ला पञ्चेबाजाका लागि चर्चित मानिए पनि पहिलेको जस्तो अवस्था अहिले नरहेको बताएका छन्। सहर बजारमा एक दशक अगाडिदेखिनै बाजाको सट्टा साउण्ड सिस्टम बजाउने गरिएको उनको भनाइ थियो।
‘अहिले दूर दराजका गाउँमा पनि रेकर्डेड गीत बजाउने प्रचलन बढेको छ। विवाहका लागि पञ्चेबाजा नभइ नहुने माध्यम थियो। अझ पश्चिम बागलुङको केही ठाउँमा मृत्यु पश्चात् पनि बाजा बजाउने चलन थियो’, दर्जीले भने, ‘अचेल दाहसंस्कारका लागि शवलाई मसानघाट लैजाँदा बाजा बजाउने चलन पनि हराउँदै गएको छ।’ उनका अनुसार एकदशक पहिले जिल्लाको निसीखोला गाउँपालिका क्षेत्रमा दर्जन बढी बाजा बजाउनेको समूह रहेकामा अहिले हराउँदै गएका छन्।
अहिलेका युवा शक्ति विदेशिन थालेपछि समूह बनाउन सङ्ख्या नपुग्दा बाजा बजाउन छोडिएको दर्जीले बताए। गाउँमा भएका युवाले पनि चासो नदिँदा पञ्चेबाजा हराउँदै गएको उनले गुनासो गरे। छ वर्षको उमेरदेखि बाजा बजाउन थालेको सुनाउँदै उनले पछिल्लो तीन वर्षदेखि भने बजाउन छोडेको बताएका छन्।
पञ्चेबाजाको एक समूहका लागि न्यूनतम आठ जना चाहिने भन्दै गाउँमा त्यो सङ्ख्यामा युवा नभएको दर्जीको भनाइ छ। अहिलेका युवाले बाजा बजाउन लजाउने र बजाइ हाले पनि ताल मिलाउन नसक्ने उनले बताए। आफूले बाजा बजाएरै परिवार पालेको भन्दै अहिले बाजाको सट्टा आधुनिक विद्युतीय बाजाको चलन बढेको उनले बताएका छन्।
‘बाजा जोकोहीले बजाउन जान्दैनन्। सबै जातिमा बाजा बजाउनका लागि कला हुँदैन। हामीले सानैदेखि बाउबाजेले बजाएको देखेर बजाएका हौँ। अहिलेका छोरा नातिले हामीलाई पनि नबजाउ भन्छन्। पहिले बाजा बजाउनेलाई हेपाइको दृष्टिकोणले हेर्थे’, दर्जीले भने, ‘अहिले हेराइ परिवर्तन भएको छ। अन्य जातिकाले पनि पञ्जेबाजा बजाउन थालेका छन्।’
पहिले बाजा बजाउनेलाई हेपाइको दृष्टिकोणले हेरिने भए पनि अहिले आधुनिकतासँगै शिक्षाका कारण मानिसको हेराइमा परिवर्तन आएको स्थानीय भीमबहादुर नेपालीले बताए। उनले यहीँ पेसाबाट जीविकोपार्जन भएको भन्दै अहिलेसम्म गाउँमा बुढापाकाले नै पञ्चेबाजा संरक्षण गर्दै आएको बताए।
सानैदेखि बाजा बनाउने, बजाउने र नाचगानमा बढी चासो भएकाले बुढेसकालमा पनि नछोडेको नेपालीको भनाइ थियो। पहिलेपहिले गाउँका साथै सहरबजारमा पनि बाजा बजाउन जाने गरेको अनुभव सुनाउँदै उहाँले आधुनिक प्रविधिको विकासले पञ्चेबाजालाई विस्थापित गर्न थालेकामा चिन्ता व्यक्त गरेका छन्। अब पञ्चेबाजाको संरक्षण गर्न नसके एक दशकपछि गाउँ-सहर कतै पनि पञ्चेबाजा नबज्ने स्थिति आउने उनको भनाइ थियो।
‘वैशाख, मङ्सिर र माघमा धेरै विवाह हुने गर्थे। विवाह हुने सिजनमा कहिल्यै खाली बस्नु पर्दैनथ्यो। अहिले विवाह गर्ने चलन पनि फेरियो। पहिलेको जस्तो भातखुवाई, छैटी, छेवारलगायत परम्परामा बाजा बज्न छोडेका छन्’, नेपालीले भने, ‘त्यहीँ भएर बाजा बजाउने काम पनि कम भयो। अहिले महिनामा चार दिन पनि बाजा बजाउनु पर्दैन। हरेक दिन बाजा बजाउने समूहमा सदस्य घटिरहेका छन्।’ उनले सिजनमा एकै महिनाको कमाइ पचास हजारभन्दा बढी हुने गरेको भएको सुनाए। बढ्दो पाश्चात्य संस्कृतिलाई नियन्त्रण गर्न नसके मौलिकता हराउने र पञ्चेबाजा पनि लोप हुने नेपालीको भनाइ थियो।
जिल्लामा पञ्चेबाजा हराउँदै जान थालेपछि केही पालिकाले संरक्षणमा चासो दिएका छन्। बाजा बजाउने दलित समुदायकालाई प्रोत्साहनस्वरुप बागलुङ र गलकोट नगरपालिकाले पञ्चेबाजा, सनाइँ, झ्यालीलगायतका आवश्यक सामग्री सहयोग गरिरहेका छन्।
कला संस्कृतिको संरक्षण गर्ने जिम्मा आफूहरूको भएको भन्दै बेलाबेला प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए। बाजा समूहलाई नगरपालिकाले बाजासहित, कर्नाल र पोसाक उपलब्ध गराएको उनले बताएका छन्। स्थानीयस्तरमा हुने हरेक कार्यक्रममा मौलिक संस्कृतिसँग जोडिएका बाजा बजाउनुपर्ने गरी नीतिसमेत बनाउन थालिएको उनको भनाइ थियो। -रासस