काठमाडौं- नेपाली कांग्रेसको बैठकमा तत्काल महाधिवेशन नगर्ने प्रस्ताव गरिएको आरोप वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस केन्द्रीय समिति बैठकमा महाधिवेशन नै नगर्ने प्रस्ताव आएको बताएका छन्।
सभापति शेरबहादुर देउवा निवासमा बिहीबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा शुक्रबार पनि सहभागी भएर बाहिरिने क्रममा पौडेलले यस्तो बताए लगाएका हुन्।
'यहाँ त महाधिवेशन नै नगरौँ भन्ने प्रस्ताव साथीहरूले ल्याए,' बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई छोटो प्रतिक्रिया दिँदै उनले भनेका थिए। तर उनले कसले त्यसरी प्रस्ताव ल्याएको भन्ने विषयमा भने खुलाएनन्।
आजको बैठकको सकिएपछि पनि देउवा पक्षका नेताहरू भने बैठकस्थलमा नै बसिरहेका थिए। बैठकमा छलफल भएका विषयमा पार्टीका तर्फबाट आधिकारिक रूपमा कुनै पनि जानकारी दिइएको छैन।
बैठकको अन्त्यतिर बैठकस्थलबाट पत्रकारहरूलाई पनि बाहिर निकालिएको थियो। 'हामीलाई निकाल्नु भन्ने आदेश छ। कृपया तपाईंहरू बाहिर गइदिनुस्,' पत्रकारहरू भएको स्थानमा आएर एक जना सुरक्षाकर्मीले भनेका थिए।