काठमाडौं– होटल संघ नेपाल (हान) ले पर्यटन प्रवर्द्धनका विषयमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग छलफल गरेको छ। मंगलबार हानका अध्यक्ष विनायक शाहसहितका पदाधिकारीहरुले मन्त्री किरातीसँग भेट गरी मुलुकको पर्यटन गतिविधिका बारेमा छलफल गरेका हुन्।
उक्त अवसरमा संघका अध्यक्ष शाहले मुलुकमा पर्यटन आगमन वृद्धि भए पनि पछिल्लो समयमा धेरै ठूला होटल संरचनाहरु सञ्चालनमा आउने क्रम बढेकोले माग भन्दा आपूर्ति बढी भई क्षमताको एक तिहाई अकुपेन्सीमा होटलहरु सञ्चालन भएको भन्दै सञ्चालन घाटामा रहेको बताएका छन्।
अध्यक्ष शाहले विदेशी पर्यटकहरु नेपाल भ्रमणका लागि लालायित भएको र सोधपुछ बढ्दै गएको परिप्रेक्षमा पूर्वाधारहरु जस्तै– राजमार्ग, हवाई सञ्जाल र यातायातमा रहेको कठिनाईका कारणले नेपाल आउने पर्यटक अन्यत्रै जाने गरेको बताए। उनले मुलुकको नयाँ क्षेत्रीय विमानस्थल पोखरा र भैरहवालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन सके मुलुक पर्यटनबाट छिट्टै फड्को मार्न सक्ने हुँदा यसतर्फ राज्यको ध्यानाकर्षण गराए।
विकसित छिमेकी मुलुक चीन र भारत जोड्ने सडक सञ्जालमात्र तयार गर्न सके पनि मुलुकमा पर्यटन आगमनको चाप बढ्ने बताउँदै यसतर्फ राज्यको ध्यान जानुपर्नेमा सुझाएका छन्। अध्यक्ष शाहले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवालाई सशक्त र प्रभावकारी ढंगबाट अन्तर्राष्ट्रिय जगतमा मुलुकको पर्यटन प्रवद्र्धनमा सक्रिय नरहेकोले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए। शाहले पर्यटन बोर्डका सम्बन्धमा सार्वजनिक निजी साझेदारीको संरचनाका लागि गठित कार्यदलले प्रतिवेदन समेत बुझाएको हुँदा यसको कार्यान्वयनका लागि समेत आग्रह गरेका छन्। मुलुकको पर्यटनसम्बन्धी नीति नियमलाई सहजिकरण गर्दै लगानीमैत्री तथा पर्यटनमैत्री बनाउन आग्रह गर्दै संशोधन हुन लागेको संघीय पर्यटन ऐनले यसलाई सम्बोधन गर्ने विश्वास व्यक्त गरेका थिए।
हान प्रनिधिमिण्डलले बन्दै गरेको क्यासिनो नियमावलीलाई व्यवस्थित र प्रभावकारी बनाई क्यासिनो सञ्चालनमा सहजिकरण गरिनुपर्ने बारेमा छलफल गरेको थियो। उक्त अवसरमा मुलुकको पर्यटकीय केन्द्रमा सञ्चालनमा रहेका होमस्टे र बी एण्डबीलाई राज्यको दायरामा राखी दर्ता, नविकरण र राज्यलाई राजस्व समेत बुझाउने गरी नियमनकारी भूमिका खेल्नुपर्नेमा सुझाएको छ।
कोभिड, रुस–युक्रेन युद्ध र मध्यपूर्वी मुलुकमा भएका युद्धबाट धरासायी बन्दै गएको पर्यटन तथा होटल उद्योगलाई राष्ट्रिय बजेट र मौद्रिक नीतिबाट सम्बोधन हुन नसकेको हानको भनाइ छ। बैंकलाई बुझाउनुपर्ने साँवा व्याज समयमा बुझाउन नसकेको हुँदा साँवा व्याज बुझाउने समयावधि थप गरिनुपर्नेमा अध्यक्ष शाहले जोड दिए। जनवरी १५ मा नेपाल आतिथ्यता दिवस मनाउन लागेको जानकारी गराउँदै उनले यस कार्यक्रमबाट पनि राज्यले घोषणा गरेको पर्यटन दशकलाई मद्दत पुग्ने बताए।
उक्त अवसरमा मन्त्री किरातीले पर्यटक आगमन सन्तोषजनक भएको र आउँदा दिनमा अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश प्रवाह भएको बताएका थिए। मुलुकलाई समृद्ध बनाउनका लागि पर्यटनलाई चलायमान बनाई पूर्वाधारहरु समयमै सम्पन्न गरी हवाई सञ्जाल समेत विस्तार गरिने र यसबारेमा सम्बन्धित निकायमा पहल कदमी भइरहेको बताए। मुलुकको अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीको नेतृत्वमा समिति गठन भई छलफल भइरहेको हुँदा यस पर्यटनसँग सम्बन्धित जल्दाबल्दा सुझावहरुले महत्व राख्ने बताउँदै पर्यटन दशकका लागि समेत गृह कार्य सुरु भएको मन्त्री किरातीले बताएका छन्।