सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाँच सयभन्दा बढी रोहिंग्या शरणार्थी इण्डोनेसिया पुगे- राष्ट्रसंघ

पाँच सयभन्दा बढी रोहिंग्या शरणार्थी इण्डोनेसिया पुगे- राष्ट्रसंघ

 |  आइतबार, मंसिर ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

इण्डोनेसिया- पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थीले भरिएको तीन वटा डुङ्गा आइतबार इन्डोनेसियाको सबैभन्दा पश्चिम प्रान्तमा आइपुगेको संयुक्त राष्ट्रसङ्घीय एजेन्सी (युएनएचसिआर) ले बताएको छ। सन् २०१७ मा म्यान्माद्वारा अल्पसङ्ख्यक रोहिङ्ग्या समूहमाथि सैन्य कारबाही सुरु गरेपछिको यो सबैभन्दा ठूलो आगमनमध्येको एक हो। 

अधिकांश मुस्लिम रोहिङ्ग्याले म्यान्मामा व्यापक उत्पीडनको सामना गर्नुपरेको छ र उनीहरू प्रत्येक वर्ष आफ्नो ज्यानलाई जोखिममा राखेर प्राय कमजोर डुङ्गामा मलेसिया वा इन्डोनेसियासम्म पुग्ने प्रयासमा लामो र महङ्गो समुद्री यात्रा गर्छन्। 

राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी संरक्षण सहयोगी फैसल रहमानले एउटा डुङ्गा आचे प्रान्तको बिरेयुन जिल्लामा दुई सय ५६ रोहिङ्ग्या लिएर आइपुगेको र अर्को कम्तीमा दुई सय ३९ बोकेर आचेको पिडी क्षेत्रमा आइपुगेको थियो। त्यस्तै ३६ जना बोकेको अर्को सानो डुङ्गा पूर्वी आचेमा आइपुगेको थियो। 

‘उनीहरूलाई धेरै स्थानमा पाइएको छ’, उनले भने। बिरेयुन डुङ्गामा सवार दुई सय ५६ मध्ये एक सय १० महिला र ६० जना बालबालिका रहेको उनले बताए। रहमानका अनुसार त्यो त्यही डुङ्गा थियो जसलाई स्थानीय बासिन्दाहरूले समुद्रमा धकेलेका थिए। त्यसपछि उक्त डुङ्गा कयौँ दिनसम्म समुद्री तटमा अलपत्र परेको थियो। 
    
स्थानीय अधिकारीहरूका अनुसार पछिल्लो आगमनसँगै यो एउटै सातामा आठ सयभन्दा बढी शरणार्थी आचे प्रान्तमा आइसकेका छन्। मङ्गलबार एक सय ९६ र बुधबार एक सय ४७ शरणार्थी आएका थिए। 

युएनएचसिआरका अनुसार दुई हजारभन्दा धेरै रोहिङ्ग्याले सन् २०२२ मा दक्षिणपूर्वी एसियाली मुलुकहरूको जोखिमपूर्ण यात्राको प्रयास गरेका छन्। गत वर्ष खतरनाक समुद्र पार गर्ने प्रयासमा करिब दुई सय रोहिङ्ग्या मारिएको वा हराएको युएनएचसिआरले बताएको छ।    -एएफपी

kumari

प्रकाशित: Nov 19, 2023| 17:01 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्