वासिङ्गटन डिसी–अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले प्रत्येक वर्ष आयोजना गर्ने नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण २०१९ जुन २८ देखि ३० सम्म हुने घोषाणा गरेको छ । वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने तेस्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको कुरा आयोजकले जनाएको छ ।
चलचित्र महोत्सवसमा मूलतः नेपालका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिनेछन् । नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विश्वभरी बनेका चलचित्रहरु यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् ।
महोत्सवमा चलचित्र प्रदर्शन पछि चलचित्र बारे दर्शक र चलचित्र निर्माता/निर्देशक तथा कलाकारसँग बृहत छलफल कार्यक्रम पनि आयोजना गरिनेछ । यसका अतिरिक्त चलचित्रका विभिन्न विधामा आधारित भएर विषयगत छलफल तथा कार्यशालाहरुको पनि आयोजना हुनेछन् ।
अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको समितिले आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्नेछन् । प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ । यो महोत्सव अमेरिकामा रहेका नेपाली डायस्पोरा संघसंस्था तथा व्यक्तित्वहरु, नेपाल लगायत विभिन्न देशका चलचित्र सम्बन्धी संघ संस्था र महोत्सवहरुस“गको सहकार्यमा आयोजना गरिनेछ । त्यसैले महोत्सवलाई सफल बनाउन हामी सबैलाई हार्दिक अनुरोध गर्दछौं ।
चलचित्रको आवेदन अनलाइन मार्फत दिन सकिने व्यवस्था गरिएको छ र फिल्म सोसाइटीको अमेरिका कार्यालय ठेगानामा सिधै आवेदन पठाउन पनि सकिने छ । नेपालका चलचित्रकमीहरुले अनलाइन वा मानव अधिकार चलचित्र केन्द्रको कार्यालयमा आवेदन दिन सक्ने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४